२०८३ साउन ११ , सोमबार

शिक्षामा नागरिक निगरानी र जवाफदेहिता सम्बन्धी स्थानीय शिक्षा बजेट विश्लेषण कार्यशाला सम्पन्न



सुर्खेतको वीरेन्द्रनगरमा शिक्षामा नागरिक निगरानी र जवाफदेहिता सम्बन्धी स्थानीय शिक्षा बजेट विश्लेषण कार्यशाला  सम्पन्न भएको छ।

कारखाना समूहको आयोजना तथा Education Out Loud (EOL) र Global Partnership for Education (GPE) को सहयोगमा ‘सिभिल सोसाइटी इम्पावरमेन्ट फर एकाउन्टेबल एजुकेशन’ परियोजना अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा कारखाना समूहका सल्लाहकार प्रजोल जोशीले स्थानीय शिक्षा बजेट विश्लेषण उपकरणबारे सहजीकरण गर्दै बजेटको पारदर्शिता र प्रभावकारिताका लागि नागरिक सहभागिता अपरिहार्य रहेको बताए।

उनले नेपालमा बजेट निर्माण प्रक्रिया, संघीय सरकारको बजेट तर्जुमा प्रणाली तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिकाबारे जानकारी गराए।

कार्यशालामा स्थानीय तहमा बजेट निर्माण प्रक्रिया, राजस्व स्रोत तथा विनियोजन प्रणालीबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूलाई LEBAT (Local Education Budget Analysis Tool) को प्रयोग विधि तथा तथ्यांक प्रविष्टि प्रक्रियाबारे अभ्याससमेत भएको जोशीले बताए ।

उक्त अवसरमा लेकबेशी नगरपालिकाको पछिल्लो पाँच वर्षको शिक्षा बजेट विश्लेषणमा छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागी बिन्दुलाल रेग्मीले स्थानीय तहले शिक्षा क्षेत्रमा विनियोजन गरेको बजेटको वास्तविक अवस्था बुझ्न यस्ता कार्यशाला निकै उपयोगी भएको बताए ।

उनले भने, ‘तथ्यांकमा आधारित विश्लेषणले बजेट कहाँ र कसरी खर्च भइरहेको छ भन्ने स्पष्ट तस्वीर प्रस्तुत भएकाले आगामी दिनमा नागरिक तहबाट निरन्तर निगरानी र सुझाव दिने अभ्यासलाई अझ सुदृढ बनाउनु आवश्यक रहेको बताए ।’

त्यसैगरी, वाम संस्थाकी अध्यक्ष देवी पौडेलले शिक्षा क्षेत्रमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न नागरिक समाज, जनप्रतिनिधि तथा अन्य सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको धारणा राखिन्।

उनले LEBAT जस्ता उपकरणको प्रयोगले बजेट विश्लेषणलाई व्यवस्थित र प्रमाणमा आधारित बनाउने उल्लेख गर्दै यसले नीति निर्माण तथा कार्यान्वयन प्रक्रियामा सकारात्मक सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी थिइन् ।

कर्णाली सिकाइ समूहका सदस्यहरूले आगामी कार्ययोजना अन्तर्गत लेकबेशी नगरपालिकाको पाँच वर्षे बजेट विश्लेषणका आधारमा चैतको पहिलो साताभित्र सुझावपत्र हस्तान्तरण गर्ने CSE परियोजना प्रबन्धक मोहन बुर्जा मगरले बताए ।

साथै, कर्णाली सिकाइ समूहमा आबद्ध विभिन्न संस्थाहरूले सुर्खेतका सबै पालिकाहरूमा चैत मसान्तसम्म स्थानीय तहको बजेट विनियोजन विश्लेषण र उपयोग सम्बन्धी गतिविधि सञ्चालन गर्ने प्रतिवद्वता जनाएका छन्।

उक्त कार्यशाला शनिबार देखि आइतबारसम्म दुईदिन सञ्चालन भएको थियो

प्रकाशित मिति : २०८२ फागुन ४ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।