२०८३ भदौ ३१ , बुधबार

मर्यादित महिनावारी सम्बन्धी छलफल कार्यक्रम सम्पन्न



सुर्खेतको वीरेन्द्रनगरमा मर्यादित महिनावारी सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । सीमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) को आयोजना तथा अक्सफाम नेपालको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो ।

वीरेन्द्रनगर नगरपालिकाकी मेयर, मोहनमाया ढकालले मर्यादित महिनावारीको अभ्यासले महिलाहरूलाई विभिन्न गम्भीर स्वास्थ्य समस्याबाट जोगाउन सहयोग पुगेको बताइन् ।

पछिल्लो समय स्वच्छता र उचित व्यवस्थापनको अभावमा महिलाहरूमा नसर्ने प्रकृतिका विभिन्न रोग देखिने गरेको उल्लेख गर्दै उनले कर्णाली प्रदेशका केही जिल्लामा अझै छाउपडीजस्ता कुप्रथा विद्यमान रहेको बताइन् ।

यस्ता अभ्यासका कारण महिलाहरूले असुरक्षित वातावरणमा बस्नुपर्दा स्वास्थ्य जोखिम बढ्नुका साथै अकालमै ज्यान गुमाउने घटना पनि हुने गरेको उनको भनाइ थियो । उनले यस्ता समस्या न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको र “मर्यादित महिनावारी नै स्वस्थ जीवनको आधार” भएको उल्लेख गरिन् ।

कार्यक्रममा बोल्दै वाम संस्थाकी उपाध्यक्ष मञ्जुराना क्षेत्रीले महिनावारीसँग सम्बन्धित विभिन्न समस्याका कारण महिलाहरूले शारीरिक, मानसिक र सामाजिक रूपमा पीडा भोग्नुपरेको बताइन् ।

आवश्यक सचेतना र स्वास्थ्य सुविधाको अभावमा कतिपय महिलाहरूले गम्भीर स्वास्थ्य समस्या सामना गर्नुपरेको उल्लेख गर्दै उनले मर्यादित महिनावारीसम्बन्धी जानकारी र पहुँच विस्तार हुनुपर्नेमा जोड दिइएकी छन् ।

उनले मर्यादित महिनावारीको अभ्यासले महिलाहरूको स्वास्थ्य, आत्मसम्मान र दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताउँदै यस विषयमा अझ व्यापक सचेतना कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरिन् ।

यस्तै, कार्यक्रममा सहजकर्ता प्रदेश अस्पतालकी स्टाफ नर्स अञ्जली थकालीले महिनावारी अनियमित हुनुका कारण र त्यसबाट उत्पन्न स्वास्थ्य समस्याबारे जानकारी दिइन् । हर्मोनको असन्तुलन, पोषणको कमी, अत्यधिक तनाव तथा अन्य शारीरिक अवस्थाका कारण महिनावारीमा समस्या देखिन सक्ने उनले बताइन् ।

महिनावारीका क्रममा देखिने लक्षण, रगतको प्रकृति र असामान्य संकेतबारे सचेत रहनुपर्ने विषयमा समेत छलफल गरिएको थियो ।

मर्यादित महिनावारी र व्यक्तिगत स्वच्छताका लागि ध्यान दिनुपर्ने व्यवहार, सुरक्षित सामग्रीको प्रयोग, सरसफाइ तथा उचित व्यवस्थापनका आधारबारे सहभागीहरूबीच अन्तरक्रिया भएको थियो ।

सामाजिक अभियान्ता तथा सहजकर्ता माया सापकोटाले विद्यालयका विद्यार्थी, संघसंस्थाका प्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूलाई समूहमा विभाजन गरी समुदायस्तरमा देखिएका चुनौती, समाधानका उपाय पहिचान, भूमिका र अनुभवका विषमा छलफल गरिएको उनले बताइन् ।

त्यसैगरी, सहजकर्ता तथा सामाजिक विकास मन्त्रालयकी कानुन अधिकृत शर्मिला विकले महिनावारीसँग सम्बन्धित कानुनी प्रावधान, छाउपडी निषेधसम्बन्धी व्यवस्था र कार्यान्वयनका पक्षबारे जानकारी गराइन् । कानुनको प्रभावकारी कार्यान्वयन र जनचेतना अभिवृद्धि सँगसँगै अघि बढ्नुपर्नेमा उनले जोड दिइएकी थिइन् ।

कार्यक्रमको समापन गर्दै आयोजक वामकी अध्यक्ष देवी पौडेलले मर्यादित महिनावारी जस्तो संवेदनशील तथा महत्वपूर्ण विषयमा खुलेर छलफल हुनुलाई सकारात्मक उपलब्धिका रूपमा लिइएको बताए ।

महिनावारीलाई लाज वा गोप्य विषयका रूपमा होइन, स्वास्थ्य र अधिकारसँग जोडिएको प्राकृतिक प्रक्रिया भनेर बुझ्न आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि, विद्यालयका विद्यार्थी कर्मचारीहरुको उपस्थिति रहेकको थियो ।

प्रकाशित मिति : २०८२ फागुन १ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।