आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दैलेख क्षेत्र नं. २ मा चार राजनीतिक धारबीचको कडा र रोचक प्रतिस्पर्धाका रूपमा देखिएको छ। विगतका निर्वाचन परिणाम, दलहरूको रणनीति र उम्मेदवारको राजनीतिक पृष्ठभूमिले यस क्षेत्रलाई चासोको केन्द्र बनाएको हो।

नेकपा (एमाले) यसपटक अघिल्लो निर्वाचनमा गुमाएको सिट फर्काउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको छ। २०६४ सालदेखि लगातार तीन निर्वाचन जितेको एमाले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनसँग ८० मतान्तरले पराजित भएको थियो।
एमालेका उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल संविधानसभा सदस्य भइसकेका अनुभवी नेता हुन्। पार्टीले विगतमा प्राप्त जनमत र संगठनात्मक आधारलाई पुनः एकताबद्ध गर्न सके जित सुनिश्चित हुने विश्वास लिएको छ। पोखरेलले अघिल्ला निर्वाचनमा प्राप्त मतका आधारमा यसपटक जित निश्चित हुने दाबी गरेका छन्।
नेपाली काँग्रेस भने आफ्नो राजनीतिक विरासत जोगाउने दाउमा देखिएको छ। २०७९ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँगको गठबन्धनको सहयोगमा विजयी बनेको काँग्रेसले यसपटक पनि सोही सफलता दोहोर्याउने लक्ष्य लिएको छ।
काँग्रेसले अघिल्लो निर्वाचनमा विजयी केन्द्रीय सदस्य दिक्पालकुमार शाहीलाई पुनः उम्मेदवार बनाएको छ। शाहीले निर्वाचन क्षेत्र नं. २ को दुल्लु क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपस्थितिले एमालेको मत विभाजित हुने र त्यसले काँग्रेसलाई फाइदा पुग्ने दाबी गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने यस निर्वाचनलाई नयाँ इतिहास रच्ने अवसरका रूपमा लिएका छन्। नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार योगेन्द्रबहादुर शाही पूर्व एमाले नेता हुन्।
२०७९ सालको प्रदेशसभा निर्वाचनमा एमालेबाट टिकट नपाएपछि माओवादी केन्द्रमा प्रवेश गरी उम्मेदवार बनेका उनी पराजित भएका थिए। पराजयपछि उनलाई कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको थियो।
काँग्रेस र एमालेको मत रास्वपाले काट्ने सम्भावनालाई आफ्नो पक्षमा उपयोग गर्दै पार्टी पहिलो पटक यस क्षेत्रमा विजयी हुने रणनीतिमा देखिएको छ। रास्वपाका उम्मेदवार बखतबहादुर शाही नयाँ राजनीतिक शक्तिको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्।
पुराना दलप्रतिको असन्तुष्टि र परिवर्तनको चाहनालाई मतमा रूपान्तरण गर्न सकिने विश्वास रास्वपाले लिएको छ।
यसरी दैलेख निर्वाचन क्षेत्र नं. २ मा काँग्रेस आफ्नो राजनीतिक पकड कायम राख्न सक्रिय देखिएको छ भने एमाले गुमेको सिट पुनः हात पार्ने प्रयासमा छ।
उता नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलोपटक इतिहास रच्ने लक्ष्यसहित मैदानमा उत्रिँदा यहाँ बहुपक्षीय, चर्को र निकै प्रतिस्पर्धात्मक चुनावी भिडन्त हुने संकेत देखिएको छ।









