२०८३ भदौ २९ , सोमबार

बराहतालका अलपत्र विकास योजना अघि बढाउन संघीय सरकारसँग अध्यक्ष भण्डारीको माग



सुर्खेतको बराहताल गाउँपालिका र छिमेकी स्थानीय तहका विकास योजना वर्षौँदेखि अलपत्र परेको भन्दै स्थानीय बासिन्दामा निराशा बढेको छ।

बराहताल गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारीले संघीय सरकारसँग तत्काल अघि बढाँउन आग्रह गरेका छन्।

अध्यक्ष भण्डारीले मंगलबार सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनसँग भेटेर स्थानीय तहका समस्याहरू अवगत गराएका हुन्।

उनका अनुसार स्थानीय तहले आफ्ना जिम्मेवारी पूरा गरिसकेको भए पनि संघीय सरकारबाट बिनियोजित योजना कानुनी, प्राविधिक र वित्तीय समस्याका कारण अघि बढ्न सकेका छैनन्। वर्षौँदेखि अवरुद्ध विकास योजनामा मुख्य रूपमा समस्या देखिएको उनले भने ।

अध्यक्ष भण्डारीका अनुसार टेन्डर भइसके पनि काम सुरु नभएका योजनाहरू, काम सुरु भए पनि अत्यधिक ढिलाइ भएका आयोजना र वर्षौँदेखि मुद्दा परेको कारण रोकिएका र अदालतको फाइनल निर्णय आएपछि पनि अघि नबढाइएका योजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउन संघीय सरकारसँग आग्रह गरेका छन्।

‘स्थानीय तहले आफ्नो गृहकार्य पूरा गरिसकेको छ,’ अध्यक्ष भण्डारीले भने।

संघीय सरकारले बाँकी कानुनी, प्राविधिक र वित्तीय प्रक्रिया तुरुन्त टुंग्याई फाँटगत निर्देशन, स्रोत हस्तान्तरण र कार्यान्वयनको समयसीमा निर्धारण गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : २०८२ मंसिर २३ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।