२०८३ भदौ २८ , आइतबार

पातारासी गाउँपालिकामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति योजना हस्तान्तरण



जुम्लाको पातारासी गाउँपालिकामा ‘लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति योजना हस्तान्तरण तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ। किर्डाक नेपाल, IHE DELFT नेदरल्याण्ड र मध्यपश्चिम विश्वविद्यालयको सहकार्यमा सञ्चालित सुमात्रा (SUMATRA) परियोजनाअन्तर्गत तयार गरिएको उक्त रणनीति योजना पालिका अध्यक्ष पूर्णसिंह बोहोराको अध्यक्षतामा औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

रणनीति योजनाले स्थानीय विकासका सबै प्रक्रिया तथा पालिकामा सञ्चालित परियोजनामा महिला, दलित, अपांगता भएका व्यक्ति, पिछडिएका तथा कमजोर समुदायहरूको समान सहभागिता र समावेशिता सुनिश्चित गर्ने लक्ष्य लिएको छ।

मध्यपश्चिम विश्वविद्यालयका उप–प्राध्यापक ललित जंग शाहीले संविधान, कानुन, अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम समावेशी विकासलाई संस्थागत रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले योजना तयार पारिएको जानकारी दिए ।

कार्यक्रममा सुमात्रा परियोजनाअन्तर्गत सम्पन्न महत्वपूर्ण अनुसन्धान तथा अध्ययन प्रतिवेदनहरू पनि गाउँपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुयट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका प्राध्यापक तथा विद्यार्थीहरूको प्राविधिक सहयोगमा तयार पारिएका पातारासी गाउँपालिकामा मिटरयुक्त घरायसी धारा र सामुदायिक/सार्वजनिक धाराबाट प्रदान हुने सेवाबीच पानी संरक्षणको तुलनात्मक अध्ययन प्रतिवेदन, सोही विषयको विस्तृत प्रतिवेदन, र ‘पातारासी गाउँपालिकाको पानी महसुल (टारिफ) निर्देशिका’ दस्तावेज कार्यक्रमकै अवसरमा पालिकालाई हस्तान्तरण गरिएको थियो।

सम्बोधनका क्रममा पालिका अध्यक्ष बोहोराले सुमात्रा परियोजनाले गरेको प्राविधिक सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै विश्वविद्यालयबाट गरिएका सबै अध्ययन तथा दस्तावेजिकरण कार्यहरू पालिकासँग साझेदारी हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए । उहाँले आगामी दिनमा पनि यस्ता सहकार्यलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रम गाउँपालिकाको सभाहल लासीमा आयोजित कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू, कर्मचारी, जनप्रतिनिधि, किर्डाक नेपालका प्रतिनिधि तथा मध्यपश्चिम विश्वविद्यालयका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

प्रकाशित मिति : २०८२ मंसिर २३ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।