कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेशमा रहेका अपाङ्गता भएका व्यक्तिलाई आम नागरिक सरह आत्मनिर्भर बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताएका छन्।

३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा बुधबार सुर्खेतमा आयोजित मूल समारोहमा बोल्दै उनले करदाता योग्य नागरिक बनाउने उद्देश्यसहित सीपमूलक कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।
मन्त्री भण्डारीका अनुसार सामाजिक विकास मन्त्रालयले कृत्रिम अंग निर्माण, सिप प्रवर्द्धन कार्यक्रम, तथा जीविकोपार्जनका विविध कार्यक्रममा बजेट विनियोजन गरी कार्यान्वयन अघि बढाइरहेको छ। उनले अपाङ्गता सम्बन्धी नीति निर्माणको काम सम्पन्न भइसकेको र अब त्यसको प्रभावकारी कार्यान्वयनमा मन्त्रालय जुटिरहेको जानकारी दिए।
कर्णालीको भौगोलिक चुनौतीले यहाँका नागरिकले दैनिक रूपमा कठिनाइ भोग्दै आएको उल्लेख गर्दै मन्त्री भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजमा कायम हुने नकारात्मक सोच नै भेदभावको मुख्य कारण भएको बताए।
अपाङ्गता कुनै पनि मानवीय जीवनमा कहिले पनि आउन सक्ने भएकाले मानवता र समावेशितालाई ध्यानमा राखी संरचना निर्माणदेखि व्यवहारिक पक्षसम्म संवेदनशील बन्न सबैलाई आग्रह गरे।









