
स्मार्टफोन प्रयोगकर्ताहरुका लागि सामसुङ कम्पनीले फोल्डिङ फोन हालै लन्च गरेको छ । यस भन्दा अगाडी नेपाली बजारमा सामसुङले ग्यालेक्सी जेड फोल्ड फोन ल्याएको थियो । तर, पछिल्लो रिपोर्टमा सामसुङको पहिलो ट्राइफोल्ड फोनको नाम ग्यालेक्सी जेड ट्राइफोल्ड हुने बताइएको छ ।
समाचार अनुसार सामसुङको ट्राइफोल्ड स्मार्टफोन यहीँ वर्ष सन् २०२५ को अन्त्यसम्ममा अर्थात् सम्भवतः अक्टोबरमा सार्वजनिक हुन सक्ने चिनियाँ सामाजिक सञ्जाल विबोले जानकारी गराएको छ ।
कम्पनीले आफ्नो आगामी ट्राइफोल्ड फोनलाई जेड सिरिजमा जोड्न चाहेको देखिएको छ । स्मरण रहोस् यसअघि सामसुङका सबै फोल्डेबल तथा फ्लिप फोनहरु सबै जेड सिरिजकै हिस्सा रहेका छन् ।

एक नयाँ जानकारी अनुसार उक्त स्मार्टफोनमा पूरा अलफोल्ड गर्दा ९.९६ इन्चको डिस्प्ले हुनेछ । साथै फोल्ड गर्दा यसको स्क्रिनको आकार ६.५४ इन्चको हुनेछ । उक्त फोन स्नापड्रागन ८ एलिट प्रोसेसरका साथमा लन्च हुने बताइएको छ र यसमा सिलिकन कार्बन ब्याट्री रहने कम्पनीले बताएको छ ।

सामसुङले यस ट्राईफोल्ड फोनको पछाडिको भागमा ट्रिपल क्यामेरा राख्नेछ, जसले ८के भिडियो रेकर्ड गर्नेछ । सामसुङ मोबाइल कम्पनीका प्रमुख टिएम रोहले हालैमात्र यो वर्षको अन्त्यसम्ममा कम्पनीले आफ्नो ट्राइफोल्ड स्मार्टफोन लञ्च गर्ने योजना बनाइरहेको खुलासा गरेका थिए ।
सामसुङको उक्त ट्राइफोल्ड फोनले हुवाबेको मेट एक्सटी अल्टिमेट फोनसँग प्रतिस्पर्धा गर्नेछ । सो फोन हाल बजारमा रहेको एकमात्र ट्राइफोल्ड फोन हो ।









