२०८३ वैशाख ८ , मंगलबार

सुर्खेतमा एक वर्षमा १७ हजार सवारी कारबाही, १ करोड ४५ लाख राजस्व संकलन



जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आर्थिक वर्ष २०८१/८२ मा ट्राफिक नियम उल्लंघन गर्ने १७ हजार १ सय ५१ सवारीसाधनलाई कारबाही गरेको छ।

कारबाहीबाट १ करोड ४५ लाख १५ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ८४२ सवारीसाधन कारबाहीमा परेका थिए।

सो समयमा १ करोड १५ लाख ९९ हजार ५ सय रुपैयाँ राजस्व उठेको थियो। यो वर्ष अघिल्लो वर्षभन्दा २९ लाख १५ हजार ५ सय रुपैयाँ बढी राजस्व संकलन भएको हो।

कारबाहीमा परेका सवारीमध्ये सबैभन्दा बढी मोटरसाइकल छन्। पछिल्लो वर्ष ६ हजार ७५० वटा मोटरसाइकललाई कारबाही गरी ५४ लाख २६ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।

त्यसपछि ३ हजार ७२ वटा जिप, कार र भ्यानबाट २३ लाख ४६ हजार ५ सय, २ हजार ८६१ वटा ट्रक–टिपरबाट २७ लाख ६० हजार, २ हजार २५ वटा अटो टेम्पोबाट १९ लाख २४ हजार ५ सय, १ हजार ६१४ वटा बस तथा मिनीबसबाट १४ लाख ४४ हजार ५ सय र ८२९ वटा ट्र्याक्टरबाट ६ लाख १३ हजार ५ सय रुपैयाँ राजस्व उठाइएको छ।

ट्राफिक कार्यालयका तथ्यांक अनुसार गएको वर्ष जिल्लामा ४२३ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ३८ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमध्ये २९ जना पुरुष, ६ महिला, १ बालक र ३ बालिका रहेका छन्। पुरुषमध्ये १२ जना चालक रहेको कार्यालयले जनाएको छ।

दुर्घटना घटाउन ट्राफिक प्रहरीले विद्यालय, क्याम्पस, चालक, सहचालक र पैदल यात्रुहरूलाई लक्षित गर्दै २ हजार ५३४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

यसका साथै राडर गनमार्फत गति नियन्त्रण, मादक पदार्थ सेवन चेकजाँचमा कडाइ, ८८६ वटा सडक फर्निचर र सूचनामूलक बोर्ड जडान, २०६ वटा अतिरिक्त सिट हटाउने, ८४ वटा मोडिफाइड सवारी नियन्त्रण गर्ने जस्ता कामहरू अघि बढाइएको छ।

ट्राफिक प्रशासनलाई थप प्रविधिमैत्री बनाउन ई–चलान प्रणाली, अनलाइन सचेतना कार्यक्रम र ट्राफिक लाइट जडानजस्ता काम पनि सुरु गरिएको ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रबार