२०८३ कात्तिक ११ , मंगलबार

सुर्खेतमा फोर्स गाडी दुर्घटना, नौ जना घाइते



सुर्खेतको पञ्चपुरी नगरपालिका–३, लगम डाँडा मोडमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।

बुधबार बिहान करिब १०ः३० बजे कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार गाडी अछामको विनायक नगरपालिका बस्ने करिब ३५ वर्षीय विष्णु शाहीले चलाएका थिए। दुर्घटनापछि चालक शाही फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा अछाम तुर्माखाँद गाउँपालिका–६ की २७ वर्षीया जीवनकला बयक, अछाम विनायक नगरपालिका–१ का २५ वर्षीय हेमन्त तिमल्सिना, कैलालीका तीन वर्षीय समिर बादी, दैलेख ठाटीकाँध गाउँपालिका–३ का ४१ वर्षीय विर्ख टमटा, २० वर्षीया सारदा टमटा, अछाम कमलबजार नगरपालिका–७ का १५ वर्षीय निरज भण्डारी, अछाम विनायक नगरपालिका–८ का ३५ वर्षीय धिराज विक, कैलाली लम्कीचुहा नगरपालिका–४ का २० वर्षीय गोपाल बोगटी र २० वर्षीया शान्ति भण्डारी घाइते भएका छन्।

घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूको पञ्चपुरी आधारभूत अस्पतालमा उपचार भइरहेको छ। हेमन्त तिमल्सिनालाई थप उपचारका लागि बिहान ११ः३० बजे प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा रिफर गरिएको छ।

दुर्घटनामा परेका अन्य १० जना बालबालिकासहितका यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई सम्बन्धित समितिसँग समन्वय गरी गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए।

प्रकाशित मिति : २०८३ कात्तिक ४ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।