२०८३ कात्तिक ११ , मंगलबार

आठविसकोट–३ का वडाध्यक्ष विकलाई प्रहरी हिरासतमा कुटपिट गरेको आरोप



रुकुम पश्चिमको आठविसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विकलाई प्रहरीले हिरासतमा कुटपिट गरेको आरोप लागेको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सदस्यसमेत रहेका विकलाई हिरासतमा कुटपिट गरी घाइते बनाइएको भन्दै घटनाको छानबिन गर्न नेकपाले माग गरेको छ।

नेकपा रुकुम पश्चिमका संयोजक गोविन्द रोका र सहसंयोजक सुरज परियारले विज्ञप्ति जारी गर्दै वडाध्यक्ष विकमाथि कुटपिटमा संलग्न प्रहरी कर्मचारीमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गरेका हुन्।

प्रहरीका अनुसार बिहीबार अभद्र व्यवहारसम्बन्धी मुद्दामा फरार रहेका गोपाल विकलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई गालीगलौज तथा हातपात गरेको आरोपमा केशरमानलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले केशरमानले आफ्ना भाइ नाता पर्ने ३३ वर्षीय फरार अभियुक्त गोपाल विक भन्ने वीरेन्द्र विकलाई पक्राउ गर्न खोज्दा अवरोध गरी भगाएको आरोप लगाएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्स्पेक्टर झबिन्द्र परियारका अनुसार राष्ट्रसेवकको काममा बाधा पुर्‍याएको आरोपमा केशरमानलाई पक्राउ गरी अनुसन्धानका लागि तीन दिनको म्याद लिइएको थियो।

तर, नेकपा रुकुमका जिल्ला संयोजक सचिन रोकाले अनुसन्धानका लागि म्याद लिएपछि हिरासत कक्षअगाडिको वेटिङ रुममा प्रहरी कर्मचारीले केशरमानलाई कुटपिट गरेको दाबी गरेका छन्। उनका अनुसार कुटपिटपछि स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान करिब ३ बजे प्रहरीले उपचारका लागि उनलाई प्रादेशिक अस्पताल सुर्खेत लगेको हो। विकको हाल सुर्खेतमा उपचार भइरहेको छ।

यता, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोष सिंह राठौरले भने विकमाथि कुटपिट गरिएको आरोप अस्वीकार गरेका छन्। उनले विकलाई हिरासतमा सम्मानपूर्वक राखिएको दाबी गरेका छन्।

प्रहरीका अनुसार आठविसकोट नगरपालिका–१ स्थित कालिका मन्दिर क्षेत्रको सडकमा गोपाल विकलाई पक्राउ गर्न खोज्दा केशरमान र ड्युटीमा खटिएका प्रहरीबीच हातपात भएको थियो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जारी गरेको विज्ञप्तिमा केशरमानले प्रहरीसँग वादविवाद गर्दै धकेलेर गोपाललाई भगाएको तथा ड्युटीमा खटिएका प्रहरीको कपडा च्यातेको दाबी गरिएको छ।

तर, नेकपाका जिल्ला संयोजक रोकाले घटनास्थलमा केशरमानले प्रहरीमाथि हातपात गरेको भए त्यसको भिडियो सार्वजनिक गर्न चुनौती दिएका छन्। उनले प्रहरीको दाबी पुष्टि हुने भिडियो देखाउन आफूहरू तयार रहेको बताएका छन्।

घटनाबारे प्रहरी र नेकपाले एक-अर्कामाथि आरोप लगाएपछि वडाध्यक्ष विकमाथि भएको भनिएको कुटपिट तथा घटनास्थलको विवादबारे निष्पक्ष छानबिनको माग उठेको छ।

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।