निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेकी छन्।

यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ६५ वर्षे उमेर हदका कारण असार २३ गते अवकाश भएपछि आयोगको वरियताअनुसार डा. तुलाधरलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी प्राप्त भएको हो।
भण्डारीकै नेतृत्वमा गत फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो। पाँच सदस्यीय रहने निर्वाचन आयोगमा हाल डा. तुलाधर र आयुक्त सगुनशमशेर जबरा मात्रै कार्यरत छन्।
यसअघि तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको कार्यकाल २०८२ वैशाख ५ गते र तत्कालीन निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलको कार्यकाल २०७९ फागुन ४ गते सकिएको थियो। त्यसयता आयोगमा रिक्त रहेका पदहरू पूर्तिको प्रक्रिया अघि बढाइएको छ।
यसैबीच, संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान गर्दै सुनुवाइ प्रक्रिया सुरु गरेको छ।
संवैधानिक परिषद्ले मानबहादुर कार्की (मोरङ)ला ई प्रमुख निर्वाचन आयुक्त तथा डा. राजीव सुब्बा (काठमाडौं) र गुरुप्रसाद वाग्ले (ओखलढुंगा) लाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको छ। सुनुवाइ प्रक्रिया सम्पन्न भएपछि नियुक्तिको प्रक्रिया अगाडि बढ्नेछ।









