
सभामुख डोलप्रसाद अर्याल ।
प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ बहुमतले पारित भएको छ। प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको हो।
विधेयक पारित हुनुअघि सभामुख डोलप्रसाद अर्यालले विधेयकका दफा २ देखि ११ सम्म निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। विभिन्न विनियोजन शीर्षकमाथि सांसदहरूले दर्ता गराएका खर्च कटौतीका प्रस्तावहरू भने सभाको बहुमतले अस्वीकृत गरेको थियो।
सांसदहरू कृपाराम राना, पार्वती विक, जोगकुमार बरबरिया यादव, सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामाङ, अर्जुनकुमार कार्की, नरेन्द्रकुमार केरुङ, रमेशकुमार मल्ल, साजिदा खातुन सिद्धिकी, युवराज दुलाल, एशुदाकुमारी बराल, गुरुप्रसाद बराल, मोहमद इस्तियाक राई, बलावती शर्मा, विष्णुमाया विक, यज्ञबहादुर बोगटी, ऐनबहादुर महर, पुष्पराज कँडेल र पद्माकुमारी अर्यालले राख्नुभएको खर्च कटौतीका प्रस्तावहरू बहुमतले अस्वीकृत भएका हुन्।
अर्थमन्त्री डा. वाग्लेले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुभएको थियो। विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकमाथि असार १ र २ गते प्रतिनिधिसभामा छलफल भएको थियो। उक्त छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले बुधबार र बिहीबार दिएका थिए।
प्रतिनिधिसभाको अर्को बैठक असार ५ गते शुक्रबार बिहान ११ बजे बस्ने तय भएको छ।









