२०८३ भदौ ३१ , बुधबार

कक्षा १२ को अन्तिम परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी



माध्यमिक शिक्षा परीक्षा (कक्षा १२) को अन्तिम परीक्षा आजदेखि देशभर सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड ले सञ्चालन गरेको परीक्षा सोमबार बिहान ८ बजेदेखि सुरु भएको हो।

पहिलो दिन आज अंग्रेजी विषयअन्तर्गत नयाँ र पुरानो दुवै पाठ्यक्रमको परीक्षा सञ्चालन भइरहेको छ। बोर्डका अनुसार यस वर्ष देशभरबाट कुल ४ लाख १८ हजार ८ सय विद्यार्थी परीक्षामा सहभागी भएका छन्।

तीमध्ये नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी रहेका छन्। बोर्डले २०७९ यताका विद्यार्थीलाई आंशिक परीक्षामा सहभागी गराइएको जनाएको छ।

यस्तै, जापानस्थित एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिइरहेका छन्।

परीक्षा सञ्चालनका लागि देशभर १ हजार ४२१ वटा परीक्षा केन्द्र तोकिएका छन्। निर्धारित तालिका अनुसार परीक्षा यही वैशाख २७ गते सम्पन्न हुने बोर्डले जनाएको छ।

यस वर्ष गत वर्षको तुलनामा परीक्षार्थी संख्या घटेको देखिएको छ। गत वर्ष ५ लाख ११ हजार ५२५ जना विद्यार्थीले परीक्षा दिएका थिए भने यस वर्ष ९२ हजार ७२५ जनाले कमी आएको छ।

बोर्डका अनुसार गत वर्ष नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजामा सुधार देखिएकाले आंशिकतर्फ विद्यार्थी संख्या घटेको र त्यसकै प्रभावका रूपमा कुल परीक्षार्थी संख्या घटेको हो। गत वर्ष कक्षा १२ को उत्तीर्ण दर ६१ दशमलव १७ प्रतिशत रहेको थियो।

प्रकाशित मिति : २०८३ वैशाख १४ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।