२०८३ वैशाख ६ , आइतबार

निःशुल्क लोकसेवा कक्षादेखि ‘एक घर, एक सीप’ अभियान सञ्चालन गर्ने बराहतालको तयारी



सुर्खेतको बराहताल गाउँपालिकाले आगामी वर्षका लागि युवा लक्षित कक्षा, छात्रवृत्ति, विद्युत विस्तार, सीप विकास र आवास सुधारजस्ता कार्यक्रम सार्वजनिक गरेको छ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा युवामुखी र जनकल्याणकारी योजना समावेश गरेको छ ।

पालिकाले गाउँपालिकामा रहेका योग्य र शिक्षित युवाहरूका लागि ‘निःशुल्क लोकसेवा आयोगको पूर्वतयारी कक्षा सञ्चालन’ गर्ने घोषणा गरेको हो ।

डाक्टर, इञ्जिनियर र चार्टर्ड एकाउन्टेन्ट पढ्न चाहने तर आर्थिक अवस्था कमजोर भएकाहरूका लागि निश्चित शर्तसहित छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने ।

पालिकाका अध्यक्ष भिम भण्डारीले आगामी आवमा गाउँमै रहेका युवाहरूले अवसर पाउन तथा सक्षम जनशक्ति तयार पार्नका लागि पूर्वतयारी कक्षा निःशुल्क रूपमा सञ्चालन गरिने जानकारी दिए ।

त्यस्तै डाक्टर, इञ्जिनियर र चार्टर्ड एकाउन्टेन्ट पढ्न चाहने तर आर्थिक अवस्था कमजोर भएकाहरूका लागि निश्चित शर्तसहित छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । उनकाअनुसार पालिकाले ‘उज्यालो बराहताल अभियान’लाई सार्थक बनाउने उद्देश्यले पालिकाका सबै बस्तीहरूमा क्रमशः विद्युत विस्तार गरिने योजनालाई प्रथामिकता दिएको छ ।

 

यस्तै, ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ अन्तर्गत ‘खरको छाना मुक्त गाउँ’ निर्माण, ‘एक घर, एक सीप’ अभियान अन्तर्गत प्रत्येक परिवारका कम्तीमा एक सदस्यलाई स्वरोजगारमूलक तालिम प्रदान गरिने गाउँपालिकाको दाबी छ ।

‘एक घर, एक धारा’, ‘पूर्ण सरसफाई उन्मुख पालिका’ घोषणालाई सफल बनाउन विविध जनचेतनामूलक गतिविधिहरू समेत सञ्चालन गरिने जनाइएको छ

बराहताल गाउँपालिकाद्वारा ६३ करोड ७ लाखको बजेट सार्वजनिक

प्रकाशित मिति : २०८२ असार १२ गते बिहीबार