२०८३ वैशाख ४ , शुक्रबार

एमालेको विजय यात्रा कसैले रोक्न सक्दैन, नयाँ शक्तिहरूलाई जनताले सबक सिकाउँछन् : एमाले सचिव कँडेल



नेकपा (एमाले)का सचिव यामलाल कँडेलले  देशकै सर्वाधिक लोकप्रिय पार्टी भएको दाबी गर्दै आगामी निर्वाचनमा बहुमतसहितको सरकार बनाउने उद्घोष गरेका छन् ।

आइतबार एमाले सुर्खेतले आयोजना गरेका विशाल चुनावीसभालाई सम्बोधन गर्दै उनले एमालेप्रति जनता सचेत र संगठित रहेकाले २१ फागुनको निर्वाचनको विजय यात्रा कसैले रोक्न नसक्ने दावी गरे ।

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र जेन–जी आन्दोलनप्रति टिप्पणी गर्दै उनले भने, ‘यो चुनाव आजै गर्नुपर्छ भन्ने पक्षमा एमाले थिएन ।

आफूलाई नयाँ भन्नेहरूले अनेक हत्कण्डा अपनाएर अहिलेको परिस्थिति सिर्जना गरे ।’ उनले भदौमा भएको आन्दोलनमा ध्वंस मच्चाउनेहरूलाई समयले दण्ड दिने उनले बताए ।

उनले नेपाली समाजलाई विखण्डन गर्न जात, धर्म, क्षेत्र, सम्प्रदाय र पुस्ताको कार्ड खेलिएको आरोप समेत लगाए । ‘राजनीति भेल होइन, यो बदल्न नीति, विचार र विश्वसनीयता चाहिन्छ ।

अर्कालाई सरापेर मात्र देश विकास हुँदैन,’ उनले भने । एमालेप्रति चौतर्फी हमला हुँदा पनि देशको राष्ट्रिय हितमा एक्लै उभिने पार्टी एमाले रहेको उनको तर्क थियो ।

एमाले सरकारमा रहँदा गरिएका कामहरूको फेहरिस्त प्रस्तुत गर्दै उनले एमालेकै अडानका कारण देशले अब कहिल्यै नाकाबन्दी भोग्नु नपर्ने दावी गरे ।

नयाँका नाममा व्यवस्था र संविधानमाथि भइरहेको प्रहारलाई एमालेले डटेर सामना गरिरहेको उनको भनाई छ । एमाले एक्लै चुनाव लड्न सक्षम रहेको स्मरण गराउँदै उनले आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे ।

‘हामी कमजोर भएर सहकार्यको हात अगाडि बढाएका होइनौँ । तर संविधान र गणतन्त्र विरोधी शक्तिहरू सलबलाइरहेको बेला लोकतन्त्रवादीहरू एकजुट हुन आवश्यक छ,’ उनले थपे ।

देश अहिले कठिन मोडमा रहेको उल्लेख गर्दै उनले लोकतन्त्र र गणतन्त्र जोगाउन सबै परिवर्तनकारी शक्तिहरूलाई एकताबद्ध हुन आह्वानसमेत गरे ।

‘प्रतिस्पर्धा आफ्नै ठाउँमा छ, तर संविधान र व्यवस्थामाथि औँला ठड्याउने शक्तिका विरुद्ध एक हुन चुकियो भने भोलि पछुताउनुको विकल्प रहने छैन,’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै उनले जिम्मेवारी पूरा नगरी प्रधानमन्त्रीको सपना देख्नेहरूलाई जनताले यसपटक सबक सिकाउने दावी गरे ।

प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार