२०८३ वैशाख ४ , शुक्रबार

हुम्लामा चुनावी अभियान क्रमशः अघि बढ्दै

रास्वपाको घरदैलो मंगलबारबाट सुरु


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हुम्लाको चुनावी घरदैलो अभियान मंगलवारबाट सुरु भएको छ। आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा हुम्लाबाट उम्मेदवार बनेकी टासी लाह्जोमको टिमले आज ताजाकोट गाउँपालिकाबाट घरदैलो गर्ने भएको हो ।

टासी सहित उनको सचिवालय र हुम्ला जिल्लाका रास्वपा नेता तथा सदस्यहरु घर दैलोमा सहभागी हुने रास्वपा हुम्लाका सभापति नरजित परियारले बताएका छन् । बिहान ८ बजे पालिका केन्द्र छप्रेलामा भेला भएर घरदैलो अभियान सुरु हुन लागेको सभापति परियारले जानकारी दिए ।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनीधि सभा सदस्य निर्वाचनका लागि जिल्लामा सबैभन्दा पहिले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो घरदैलो अभियान सुरु गरेको थियो । माघ १२ गते सिमकोट गाउँपालिका ५ चौपाडीबाट उक्त अभियान सुरु भएको पार्टीका जिल्ला नेता धर्मराज बोहरा (विज्ञान) जानकारी दिए। नेकपाबाट उम्मेदवार बनेका डा . दिपेन्द्र रोकाया सहित नेता तथा कार्यकर्ताको सहभागितामा औपचारीक रुपमा सुरु गरेको बोहराले बताए ।

यस्तै, नेपाली कांग्रेस हुम्लाको घरदैलो अभियान माघ १३ गतेबाट सुरु भएको थियो । सिमकोट गाउँपालिका–४ हिल्दुम र बुराउसे गाउँबाट औपचारिक रूपमा सुरु गरेको हो । घरदैलोमा कांग्रेस हुम्लाका कार्यबाहक सभापति कैलाश भण्डारीको नेतृत्वमा प्रतिनिधि सभा प्रत्यक्षतर्फका उम्मेदवार जयपती रोकाया, समानुपातिकतर्फका उम्मेदवार ताराबहादुर लामा लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

यता, नेकपा एमालेले माघ १४ गते हिमपातकै बीच प्रचार अभियानको औपचारिक रुपमा शुरुवात गरेको थियो । सिमकोट गाउँपालिका‐५ चौपाडीबाट आफ्नो चुनावी अभियान सुरु गरेको नेकपा एमालेका जिल्ला पार्टी सचिव तिर्थराज बोहराले जानकारी दिए । भने अन्य दलहरुका उम्मेदवारहरुले केही दिनमा आफ्नो चुनावी अभियान सार्वजनिक गर्ने बताएका छन् ।

फागुन २१ को चुनावमा हुम्ला जिल्लाबाट नेपाली कांग्रेसबाट जयपति रोकाया, नेपाली कम्युनिस्ट पार्टीबाट डा. दीपेन्द रोकाया, नेकपा एमालेबाट दल फडेराले मनोनयन दर्ता गरेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टासी ल्हान्जोम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट छक्क बुढा, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप) बाट जटिल कार्की र नेकपा माओवादीबाट कुम्भ बुढाले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २०८२ माघ २० गते मंगलबार