२०८३ भदौ ३१ , बुधबार

‘हाम्रो चौकुने’ स्थानीय पाठ्यपुस्तकको मस्यौदामाथि छलफल



सुर्खेतको चौकुने गाउँपालिकाले कक्षा १ देखि ४ सम्मका स्थानीय पाठ्यपुस्तकलाई अझ व्यवस्थित र व्यवहारिक बनाउन सरोकारवालासँग सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । ‘हाम्रो चौकुने’ स्थानीय पाठ्यक्रमका आधारमा तयार गरिएका पाठ्यपुस्तकको पहिलो मस्यौदामाथि एकदिने कार्यशाला मार्फत छलफल गरिएको हो ।

कार्यक्रम गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा पालिका अध्यक्ष खड्क वि.क विवस प्रमुख अतिथि, उपाध्यक्ष नरबहादुर बान्तोला र प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विक विशेष अतिथिका रूपमा उपस्थित थिए ।

आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित बजेटअनुसार तयार हुँदै गरेका यी पाठ्यपुस्तकमा स्थानीय भाषा, संस्कृति, इतिहास, वातावरण, पर्यटन र सीपलाई बालमैत्री ढंगले समेट्ने प्रयास गरिएको शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढाले जानकारी दिए ।

संविधान र राष्ट्रिय पाठ्यक्रम प्रारुपले स्थानीय तहलाई दिएको अधिकार प्रयोग गर्दै स्थानीय पाठ्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्य कार्यशालाको रहेको थियो ।

कार्यशालामा कक्षा १, ३ र ४ का पाठ्यपुस्तकको पहिलो मस्यौदामाथि चरणबद्ध छलफल गरिएको थियो । छलफलका क्रममा भाषिक शुद्धता, पाठ्यवस्तुको स्तर, तस्बिरको प्रयोग, विषयवस्तुको सन्तुलन र स्थानीय परिवेशको प्रतिनिधित्वका विषयमा विभिन्न सुझावहरूका विषयमा छलफल गरिएको थियो ।

प्रारम्भिक कक्षाका पाठ्यपुस्तकमा भाषा सरल र चित्र सामग्री प्रभावकारी हुनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए । सहभागीहरूले दिएका सुझावलाई समेटेर दोस्रो मस्यौदा तयार गर्ने विषय विज्ञहरूले प्रतिबद्धता जनाएका छन् ।

दिनभर चलेको छलफलपछि सुझाव संकलन कार्यक्रमले स्थानीय पाठ्यपुस्तकलाई गुणस्तरीय र सान्दर्भिक बनाउने दिशामा महत्वपूर्ण योगदान पु¥याउने गाउँपालिका अध्यक्ष विकले बताए ।

गाउँपालिकाले परिमार्जित पाठ्यपुस्तक आगामी दिनमा सबै विद्यालयमा प्रभावकारी रूपमा लागू गर्ने तयारी गरेको जनाएको छ । कार्यक्रममा जनप्रतिनिधि, शिक्षा समिति सदस्य, शिक्षक, विषय विज्ञ, बुद्धिजीवी तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ माघ १९ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।