२०८३ वैशाख ४ , शुक्रबार

हुम्ला रूपान्तरणको रोडम्यापः हिमाली विकास प्राधिकरण र जलविद्युत् नेकपाको चुनावी एजेण्डा



नेपाली कम्युनिस्ट पार्टी नेकपा हुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समग्र विकासलाई केन्द्रमा राख्दैँ चुनावी एजेण्डा सार्वजनिक गरेका छन् ।

नेकपाका उम्मेदवार हुम्लाका डा. दिपेन्द्र रोकायले ‘सुशासन, सामाजिक न्याय र समृद्धिका लागि अभियान’ भन्ने मूल नारासहित उनले हुम्लावासीलाई अधिकार, विकास र सम्मान सुनिश्चित गर्ने एजेण्डा सार्वजनिक गरेका हुन् ।

हुम्लाको भौगोलिक विकटता, विकासको असमान पहुँच र दीर्घकालीन उपेक्षालाई अन्त्य गर्न नीतिगत हस्तक्षेप आवश्यक रहेको उल्लेख गरेका छन् । संघीय लोकतान्त्रिक व्यवस्थाको मर्मअनुसार संघ, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गर्दै हुम्लालाई विकासको मूलधारमा ल्याइने उनको भनाइ छ ।

सडक, विद्युत्, सञ्चार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई उच्च प्राथमिकतामा राखिएको छ । कर्णाली करिडोरको स्तरोन्नति, हिल्सासम्म सडक सञ्जाल विस्तार, विद्युत् उत्पादन तथा प्रसारण लाइन विस्तार र सञ्चार पूर्वाधार सुधार गर्ने योजना समेटिएको छ । साथै, हुम्लामा विशेष हिमाली क्षेत्र विकास प्राधिकरण स्थापना गर्ने पहल गरिने बताएका छन् ।

यस्तै, शिक्षा र स्वास्थ्य क्षेत्रमा निःशुल्क तथा गुणस्तरीय सेवा विस्तार, जिल्ला अस्पतालको स्तरोन्नति, स्थानीय तहमा आधारभूत अस्पताल स्थापना तथा प्राविधिक र व्यावसायिक शिक्षामा लगानी बढाउने प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् । युवालाई सीपमूलक तालिम र रोजगारीका अवसर सिर्जना गर्ने, महिलाहरू, दलित, पिछडिएका तथा सीमान्तकृत समुदायको सशक्तीकरणमा विशेष जोड दिइने डा. रोकायले चुनावी एजेण्डा बनाएका छन् ।

कृषि, पशुपालन, पर्यटन र जलविद्युत् विकासलाई हुम्लाको आर्थिक मेरुदण्डका रूपमा अघि बढाइने योजना रहेको बताएका छन् । हिमाली पर्यटन प्रवद्र्धन, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रचार–प्रसार तथा स्थानीय उत्पादनलाई बजारसँग जोड्ने कार्यक्रम कार्यान्वयन गरिने उनले बताए ।

डा. रोकायाले आफू निर्वाचित भएमा हुम्लाका जनताको आवाज संसद्मामा प्रभावकारी रूपमा उठाउने, नियमित रूपमा जिल्लामा पुगेर जनसमस्या सुन्ने र सार्वजनिक रूपमा कामको विवरण प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यहाँ पढ्नुहाेस । 

प्रकाशित मिति : २०८२ माघ १७ गते शनिबार