आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगले शुक्रबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो।

उक्त अवधिभित्र ४९ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
आयोगका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा माघ ६ गते ६८ वटा राजनीतिक दल तथा स्वतन्त्र गरी कुल तीन हजार ४८७ जनाले उम्मेदवारी दर्ता गराएका थिए। तीमध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।
यसैबीच, एक जनाको उम्मेदवारी खारेज गरिएको छ। कैलाली–१ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज गरिएको प्रवक्ता भट्टराईले बताए।
निर्वाचन कार्यतालिका अनुसार बिहीबार उम्मेदवारीविरुद्ध दाबी–विरोध तथा उजुरी दिने समय तोकिएको थियो। सो क्रममा पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो। जाँचबुझपछि एक जनाको उम्मेदवारी खारेज गरिएको र अन्य चार जनाको उम्मेदवारी यथावत राखिएको आयोगले जनाएको छ।











प्रतिक्रिया दिनुहोस्