२०८३ वैशाख ८ , मंगलबार

हुम्लाबाट १ हजार ५४ जना निर्वाचन प्रहरी लिखित परीक्षाका लागि छनोट



आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटाइने निर्वाचन प्रहरी (सशस्त्र तथा नेपाल प्रहरी) भर्ना प्रक्रियाअन्तर्गत हुम्लाबाट १ हजार ५४ जना उम्मेदवार प्रारम्भिक स्वास्थ्य परीक्षण र शारीरिक सहनशीलता परीक्षामा उत्तीर्ण भएका छन्।

जिल्ला प्रहरी कार्यालय, हुम्लाले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार निर्वाचन प्रहरी भर्नाको प्रारम्भिक चरण पूरा गरी लिखित परीक्षाका लागि योग्य ठहरिएका उम्मेदवारहरूको नतिजा प्रकाशित गरिएको हो। निर्वाचन प्रहरी भर्ना प्रक्रिया “एकीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी कार्यविधि, २०८२” अनुसार सञ्चालन भइरहेको जनाएको छ।

निर्वाचन प्रहरीका लागि हुम्लाबाट कुल १ हजार २१६ जनाले आवेदन दिएका थिए। तीमध्ये प्रारम्भिक स्वास्थ्य परीक्षण र शारीरिक सहनशीलता परीक्षाबाट १६२ जना अनुत्तीर्ण भएको निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति उपसमितिका सदस्यसचिव दीपक घिमिरेले जानकारी दिए।

उनका अनुसार, प्रारम्भिक चरणमा उत्तीर्ण भएका उम्मेदवारहरूको लिखित परीक्षा माघ ८ गते बिहान ११ बजेबाट हुनेछ। उक्त परीक्षा सिमकोट गाउँपालिका–५ मा रहेको सिमस्थित खेलमैदानमा सञ्चालन गरिने जिप्रका हुम्लाले जनाएको छ।

प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार