नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कालिकोट प्रतिनिधि सभा निर्वाचनका लागि पुनः महेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एकल सिफारिस गरिए पनि उनी रुकुमपूर्व केन्द्रित भएपछि कालिकोटमा ११ जनाले उम्मेदवारी दाबी गरेका थिए।
पार्टीभित्र व्यापक छलफलपछि अन्ततः शाहीलाई नै टिकट दिइएको साविक माओवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन्। शाही यसअघि २०७० र २०७९ को प्रतिनिधि सभा तथा २०७४ को प्रदेश सभा निर्वाचन जितेका अनुभवी नेता हुन्।
याे पनि पढ्नुहाेस् नेकपा र एमालेले कर्णालीका १० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंङ्ग्याए, कालीकोट–मुगुमा नेकपाको अझै सहमति जुटेन
यस्तै, उम्मेदवार टुङ्गो लाग्न बाँकी रहेको मुगुमा पनि छलफलबाट चन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाइएको केसीले बताइन्। उनी साविक एकीकृत समाजवादीका नेता हुन्।
नेकपाले कर्णाली प्रदेशका अन्य जिल्लामा यसअघि नै उम्मेदवारको टुङ्गो लगाइसकेको जनाएको छ।









