फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि जिल्ला प्रहरी कार्यालय हुम्लामा निर्वाचन प्रहरीको आवेदन दिने सङ्ख्या उल्लेख्य देखिएको छ। कार्यालयले विहिवार सार्वजनिक गरेको विवरणअनुसार कुल १ हजार २१६ जनाले निर्वाचन प्रहरीमा आवेदन दर्ता गराएका छन्।

पुस २५ गतेदेखि माघ १ गतेसम्मका लागि आवेदन माग गरिएकोमा पुरुष ९०४ जना र महिला ३१२ जना रहेका छन्। यसरी हेर्दा, कुल आवेदकमा तीन भाग पुरुष र एक भाग महिलाले आवेदन दिएको देखिन्छ ।
एक हप्ताको लागि खुल्ला गरेको आवेदनमा पुस २८ गते सबैभन्दा बढी दरखास्त परेको छ। उक्त दिन २८८ जना (पुरुष २१५, महिला ७३) ले आवेदन दिएका छन्। त्यसपछि पुस २७ गते २३५ जना र पुस २९ गते २३१ जनाले दरखास्त दर्ता गराएका छन्।
क्रमशः पुस ३० गते १९०, पुस २६ गते १२० जना र माघ १ गते ९४ जनाले आवेदन दिएको पाईन्छ । भने सबैभन्दा कम आवेदन पुस २५ गते परेको देखिन्छ। सो दिन ५८ जना (पुरुष ४१, महिला १७) मात्र आवेदक रहेका छन्।
यसरी समग्रमा हेर्दा स्थानीय स्तरमा रोजगारीका अवसर सीमित हुँदा निर्वाचन प्रहरीको कामप्रति युवाको आकर्षण बढेको पाईन्छ। छोटो अवधिको रोजगारी, तलब–भत्ताका लागि पनि यति धेरै युवाहरुको आवेदन पर्नुले बेरोजगारीको अवस्था कस्तो छ भन्ने प्रष्ट हुन्छ ।
जिप्रका हुम्लाका प्रवक्ता विष्णु श्रेष्ठका अनुसार प्राप्त दरखास्तका आधारमा तोकिएको मापदण्डअनुसार माघ ५ देखि ९ गतेसम्म छनोट प्रक्रिया अगाडि बढाइनेछ। साथै १२ गते नतिजा प्रकाशन गरिने छ भने १५ देखि २४ गते सम्म प्रशिक्षण सञ्चालन हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।











प्रतिक्रिया दिनुहोस्