२०८३ वैशाख ४ , शुक्रबार

टासी ल्हाजोमको नाम हटाएपछि रास्वपा हुम्ला धर्नामा



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे समानुपातिक सूचीमा रहेकी जेनजी अभियन्ता टासी ल्हाजाेमकाे नाम समानुपातिक बन्दसूचीबाट हटाएपछि रास्वपा केन्द्रीय कार्यालयमा हुम्लाका युवाहरू धर्ना बसेका छन्।

समानुपातिककाे बन्दसूचीमा परेकी टासीलाई हटाएपछि हुम्लाबाट रास्वपा सदस्य लिएका युवाहरू केन्द्रीय कार्यालय बनस्थलीमा धर्ना बसेका हुन्।

रास्वपा कर्णाली प्रदेश सदस्य बुधे बुढा र हुम्ला जिल्ला सभापति नरजित परियारकाे नेतृत्वमा १५ जनाकाे टाेली पार्टी कार्यालयमा धर्ना बसेका छन्। रास्वपा केन्द्रीय कार्यालयले कुनै जानकारी नदिएर टासीकाे नाम एकएक समानुपातिक बन्दसूचीबाट हटाएपछि धर्नामा बसेकाे सभापति परियारले जानकारी दिए।

बिना प्रमाण भूराजनीतिक चासाे उत्पन्न भएको बहाना बाजीमा टासीकाे नाम हटाइनु कर्णालीलाई उपेक्षित बनाउन खोजिएको भन्दै धर्ना बसेकाे सभापति परियारकाे भनाई छ। दिउँसो २ बजे पार्टीका केन्द्रीय पदाधिकारीहरू सँग छलफलमा बसेपनि चित्त बुझ्दाे जवाफ नआएपछि  बेलुका ७ बजेदेखि कुनै निष्कर्ष नआउदा सम्मका लागि धर्ना बसेको परियारले बताए ।

हुम्ला जिल्लाकाे दुर्गम गाउँ लिमिमा घर भएकी जेनजी अभिन्यता टासी ल्हाजाेम शुसिला कार्की सरकारमा मन्त्री हुने चर्चा भएपनि अन्त्यमा अटाउन सकेकी थिईनन् । भने रास्वपाको समानुपातिक बन्दसूचीमा आदिवासी जनजाति महिलातर्फ पहिलो नम्बरमा परेपनि अन्त्यमा सूचीबाट नाम हटाइएकाे छ।

प्रकाशित मिति : २०८२ माघ ३ गते शनिबार