२०८३ वैशाख १० , बिहीबार

हुम्लामा ३४ हजार ३७२ मतदाता, ६० मतदान स्थलमा ६४ मतदान केन्द्र तोकिए



प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि हुम्ला जिल्लाभर कुल ३४ हजार ३७२ जना मतदाता कायम भएका छन्। तीमध्ये १८ हजार २१ जना पुरुष र १६ हजार ३५१ जना महिला रहेका छन्। जिल्लाभर ६० मतदान स्थलमा ६४ मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालय हुम्लाले जनाएको छ।

निर्वाचन कार्यालय हुम्लाका प्रमुख भिमबहादुर रोकायाका अनुसार जिल्लाका सातवटै गाउँपालिकामा मतदाता, मतदान स्थल र मतदान केन्द्रको व्यवस्थापन पूरा भइसकेको छ। साथै, हुम्ला जिल्ला अदालतका न्यायाधीश निलकण्ठ बराललाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ।

कुन पालिकामा कति मतदाता ?

सात गाउँपालिका र ४४ वडा रहेको हुम्ला जिल्लाका सबै पालिकामा महिलाभन्दा पुरुष मतदाता बढी रहेका छन्। उत्तरी भेगको नाम्खा गाउँपालिकामा कुल ३ हजार ५२५ मतदाता छन्। यहाँ पुरुष १ हजार ७७२ र महिला १ हजार ७५३ रहेका छन्। नाम्खामा ६ मतदान स्थल र ७ मतदान केन्द्र तोकिएका छन्।

जिल्ला सदरमुकाम रहेको सिमकोट गाउँपालिकामा सबैभन्दा धेरै ७ हजार ९१२ मतदाता रहेका छन्। तीमध्ये पुरुष ३ हजार ८३४ र महिला ३ हजार ४२५ छन्। सिमकोटमा ८ मतदान स्थल र १० मतदान केन्द्र कायम गरिएको छ। खार्पुनाथ गाउँपालिकामा कुल ४ हजार १६९ मतदाता रहेका छन्। पुरुष २ हजार २११ र महिला १ हजार ९५७ छन्। यहाँ ५ मतदान स्थल र ६ मतदान केन्द्र तोकिएका छन्।

यस्तै, सर्केगाड गाउँपालिकामा ६ हजार ३८१ मतदाता रहेका छन्। पुरुष ३ हजार ७३१ र महिला ३ हजार २४९ छन्। सर्केगाडमा ८ मतदान स्थल र ११ मतदान केन्द्र निर्धारण गरिएको छ।

चंखेली गाउँपालिकामा कुल ३ हजार ६८० मतदाता रहेका छन्। यहाँ पुरुष १ हजार ९१९ रहेका छन् भने मतदानका लागि ६ मतदान स्थल र ७ मतदान केन्द्र तोकिएको छ ।अदानचुली गाउँपालिकामा ४ हजार ८८९ मतदाता रहेका छन्। तीमध्ये पुरुष २ हजार ४८९ र महिला २ हजार ४०० छन्। यहाँ ६ मतदान स्थल र ६ मतदान केन्द्र कायम गरिएको छ।

त्यस्तै, ताँजाकोट गाउँपालिकामा कुल ३ हजार ८१६ मतदाता रहेका छन्। पुरुष २ हजार ६३ र महिला १ हजार ८०६ रहेका छन्। ताँजाकोटमा ५ मतदान स्थल र ७ मतदान केन्द्र तोकिएका छन्।

अघिल्लो निर्वाचनभन्दा मतदाता वृद्धि

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा हुम्लामा ३३ हजार ३०८ मतदाता, ५८ मतदान स्थल र ६० मतदान केन्द्र निर्धारण गरिएको थियो। यस पटक अघिल्लो निर्वाचनको तुलनामा १ हजार ६४ मतदाता बढेका छन् भने २ मतदान स्थल र ४ मतदान केन्द्र थपिएको छ।

प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार