सुर्खेतको लेकवेशी नगरपालिकामा सञ्चालित सिभिल सोसाइटी इम्पावरमेन्ट फर एकाउन्टेबल एजुकेशन परियोजना अन्तर्गत स्थानीय शिक्षा योजना निर्माण कार्यदलका संयोजक तथा शिक्षा शाखा प्रमुख पहलमान अधिकारीको अध्यक्षतामा ‘स्थानीय शिक्षा योजना निर्माण विश्लेषण रुपरेखा’ अन्तर्गत लेकवेशी नगरपालिकाको स्थानीय शिक्षा योजना मस्यौदा पुनरावलोकन कार्यशाला सम्पन्न भएको छ।

कारखाना समूहको सहकार्य तथा लेकवेशी नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यशाला नगर प्रमुख उमेश कुमार पौडेलको प्रमुख आतिथ्यता तथा उप-प्रमुख विमला खड्लुकको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमका नगरपालिका उपप्रमुख खड्लुकले स्थानीय तहको समग्र विकासको आधार नै गुणस्तरीय शिक्षा भएको उल्लेख गर्दै स्थानीय शिक्षा योजना नगरपालिकाको दीर्घकालीन सोच र आवश्यकतामा आधारित हुनुपर्नेमा जोड दिइन । ‘अहिलेसम्म गरिएका योजना निर्माणका प्रयासले भविष्यमा गुणस्तरीय शिक्षाप्रदान गर्न सहयोग पुर्याउनेछ। शिक्षकले दिएको शिक्षाको प्रभाव वर्षको अन्त्यमा आउने नतिजाले देखाउँछ।’
यस्तै, नगरप्रमुख उमेश कुमार पौडेलले शिक्षा क्षेत्रमा गरिने योजना कागजमा सीमित नभई कार्यान्वयनमुखी र परिणाममुखी हुने गरि बनाउनु पर्ने कुरामा जोडदिक्एका थिए ।
सबै बालबालिकाको शिक्षामा पहुँच, सिकाइ उपलब्धि अभिवृद्धि र शिक्षक व्यवस्थापनमा सुधार गर्नु नै नगरपालिकाको प्राथमिकता रहेको उनको भनाई थियो ।
स्थानीय शिक्षा योजनाले शिक्षक, विद्यार्थी, अभिभावक र समुदायबीच सहकार्यको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्दै यस प्रक्रियामा सरोकारवालाबाट प्राप्त सुझावहरूलाई योजनामा समावेश गरिने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा कर्णाली सिकाइ समूहका सदस्य तपेन्द्रबहादुर सावदले स्थानीय तहअनुसार शिक्षा क्षेत्रका योजनाका लक्ष्य र सूचक फरक भए तापनि मूल उद्देश्य गुणस्तरीय शिक्षा नै भएको स्पष्ट पारे ।
उनका अनुसार शिक्षक नियुक्ति, विद्यार्थीको सिकाइ उपलब्धि, स्थानीय शिक्षा क्षेत्र योजना (SEP), कार्यविधि, उद्देश्य तथा रणनीतिले शिक्षाको गुणस्तर निर्धारणमा महत्वपूर्ण भूमिका खेल्दछन्। ‘विद्यालय अनुगमन र पालिकाको शिक्षा नीतिको अवस्थाले नै शिक्षाको वास्तविक गुणस्तर देखाउने उनले भने ।’
उक्त कार्यशालामा कारखाना समूहका कर्णाली प्रतिनिधि ललितजंग शाही र सहजकर्ता तपेन्द्रबहादुर सावदले “स्थानीय शिक्षा योजना निर्माण विश्लेषण रुपरेखा” को सान्दर्भिकता स्पष्ट गर्दै लेकवेशी नगरपालिकाको शिक्षा योजना मस्यौदामा समेटिएका शिक्षाका उप–क्षेत्रगत सूचकहरू र विश्लेषण रुपरेखाबीचको तुलनात्मक प्रस्तुति दिएका थिए ।

प्रतिनिधि शाहीले स्थानीय तहको शिक्षा योजना निर्माणसम्बन्धी मार्गदर्शन २०७९ (संशोधन २०८१) अनुसार योजना तयार गर्नुपर्नेमा जोड दिँदै प्रारम्भिक बालविकास तथा शिक्षा, आधारभूत शिक्षा, माध्यमिक शिक्षा, प्राविधिक तथा व्यवसायिक तालिम, अनौपचारिक तथा आजीवन शिक्षाका क्षेत्रमा गुणस्तरमा केन्द्रित भई योजनालाई परिणाममुखी बनाउनुपर्ने धारणा राखेका थिए ।
यस्तै, शिक्षा शाखा प्रमुख अधिकारीले लेकवेशी नगरपालिकाको शिक्षा योजना मस्यौदाको संक्षिप्त रूपमा प्रस्तुति गरेका थिए ।
गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले शिक्षा सम्बन्धी ऐनको मस्यौदा तयार गरिरहेको र यस प्रक्रियामा कारखाना समूहले प्राविधिक सहयोग गरिरहेको जानकारी दिए । ‘नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि शिक्षा सम्बन्धी ऐनको खाका तयारगरिरहेको छ। शिक्षक दरबन्दी मिलान, सबै विद्यार्थीको शिक्षामा पहुँच र समावेशी शिक्षाका लागि विद्यालय मर्जको काम भइरहेको उनले बताए ।’
पूर्व शिक्षक भानुदत्त पौडेलले लगनशील विद्यार्थी र कर्तव्यनिष्ठ शिक्षक भए मात्र गुणस्तरीय शिक्षा सम्भव हुने उल्लेख गर्दै विद्यालय मर्जका क्रममा विद्यालय टाढा पर्ने अवस्थालाई ध्यानमा राखी विद्यार्थीका लागि सहुलियत छात्रवृत्ति तथा आवश्यक सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
यस्तै, पशुपति माध्यमिक विद्यालय, पुलाटारका प्रधानाध्यापक भानुभक्त पौडेल शर्माले माध्यमिक विद्यालयमा प्रधानाध्यापक व्यवस्थापनलाई शिक्षा योजनामा समावेश गर्नुपर्ने आवश्यकता औँल्याउँदै कम्तीमा पाँच वर्षे दीर्घकालीन रणनीति तयार गरी गुणस्तरीय शिक्षा सुनिश्चित गर्नुपर्ने धारणा राखे ।
कार्यशालामा समूहगत छलफलबाट प्राप्त सुझावहरू समेटी सिभिल सोसाइटी इम्पावरमेन्ट फर एकाउन्टेबल एजुकेशन परियोजना अन्तर्गत कारखाना समूहको नेतृत्वमा लेकवेशी नगरपालिकाको स्थानीय शिक्षा योजनालाई अन्तिम रूप दिने निर्णयसहित कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा प्रमुख तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो।










प्रतिक्रिया दिनुहोस्