हुम्लाको सिमकोटमा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुने भएको छ । सोमबार जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रमका बीच लोकसेवा अभिमुखीकरण कक्षा सुरु गरिएको हो ।

‘निरन्तर अध्ययन, अनुशासन र धैर्यता: लोकसेवा तयारी कक्षाको अपरिहार्यता’ भन्ने नारासहित उक्त कक्षा सञ्चालन गरिएको सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख ईश्रर बहादुर सिंहले जानकारी दिएका छन् ।
कार्यक्रममा लोकसेवा तयारीका लागि करिब २ सय ९० जनाले फर्म भरेपनि २ सय ८३ जना विद्यार्थी सहभागी भएका थिए ।
सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका कार्यवाहक सरिता रावत रहेकी थिइन् । भने विशेष अतिथिका नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा र अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहको रहेको थियो ।
लोकसेवा तयारीलाई व्यवस्थित, प्रभावकारी र निःशुल्क रूपमा अघि बढाउने उद्देश्यले अभिमुखीकरण कक्षा सञ्चालन गरिएको थियो ।
कक्षामार्फत विद्यार्थीहरूलाई लोकसेवाको पाठ्यक्रम, तयारीका विधि, अनुशासन, समय व्यवस्थापन तथा धैर्यताको महत्वबारे प्रमुख सिंह लगायतले प्रशिक्षण दिएका थिए ।
कार्यक्रम सिमकोट गाउँपालिका, खार्पुनाथ गाउँपालिका र नाम्खा गाउँपालिकाको आर्थिक सहयोग तथा सामाजिक विकास कार्यालय सिमकोट र आधार डेभलपमेन्टको समन्वयमा आयोजना गरिएको हो।
सामाजिक विकास कार्यालय सिमकोटका प्रमुख सिंहका अनुसार निःशुल्क लोकसेवा तयारी कक्षाहरू दुई सिफ्टमा सञ्चालन हुने छन् ।
कक्षा बिहान र बेलुका सञ्चालन हुनेछन्। पुस ८ गतेबाट निःशुल्क लोकसेवा तयारी कक्षा नियमित रूपमा सञ्चालन गरिने प्रमुख सिंहले बताए ।











प्रतिक्रिया दिनुहोस्