२०८३ वैशाख ६ , आइतबार

सिञ्जामा झोलुङ्गे पुल सञ्चालन, ४ सय परिवार लाभान्वित



जुम्लाको  सिञ्जा गाउँपालिका–२ रनुखानामा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलबाट करिब ४ सय परिवार लाभान्वित भएका छन्।

पुल नबन्दा स्थानीयवासी तथा विद्यार्थीलाई आवतजावतमा ठूलो समस्या हुने गर्थ्यो।

पुल सञ्चालनमा आएपछि स्कुले विद्यार्थीलाई दैनिक यात्रा सहज भएको वडाध्यक्ष तीर्थ वडले बताए। उनका अनुसार जिल्लास्थित पूर्वाधार विकास कार्यालयको ५५ लाख रुपैयाँको बजेटमा गत वर्ष उपभोक्ता समितिसँग सम्झौता गरी निर्माण सुरु गरिएको थियो। चालु आवको कात्तिकको पहिलो सातामा काम सम्पन्न भई हाल पुल सञ्चालनमा आएको उनले जानकारी दिए।

यो पुल सञ्चालनमा आएसँगै वडा अन्तरगतका माध्यमिक विद्यालय चुलेलगाउँ र विष्टबाडार रनुखानाका विद्यार्थी तथा स्थानीयवासीलाई सहज भएको स्थानीयले बताएका छन्। एक गाउँबाट अर्को गाउँ जोड्ने उद्देश्यले झन्डै ७२ मिटर लामाइँको पुल निर्माण गरिएको वडाध्यक्ष वडको भनाइ छ। पुल बनेपछि वर्षौँदेखि रहेको घुमाउरो र लामो बाटो हिँड्नुपर्ने बाध्यता हटेको पनि उनले उल्लेख गरे।

पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख प्रभाकरप्रसाद सिंहका अनुसार ५५ लाख रुपैयाँ लागतमा उपभोक्ता समितिबाट निर्माण भएको यो पुलबाट करिब ४ सय परिवारसँगै आगन्तुकहरू पनि लाभान्वित भएका छन्।

प्रकाशित मिति : २०८२ मंसिर ५ गते शुक्रबार