सुर्खेतको वीरेन्द्रनगरमा पितृसत्ता र केटाहरूमा हुने यौन शोषणबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

फ्रि अफ गल्स दातृ निकायसँगको सहकार्यमा शक्ति समूहको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा समाजमा विद्यमान पितृसत्तात्मक सोच, यौनिक विविधता र लैङ्गिक समानताका विषयमा विस्तृत छलफल गरिएको थियो।
शक्ति समूहकी संस्थापक सदस्य चरिमाया तामाङले समाजमा अझै पनि यौनिक विविधता र लैङ्गिक पहिचानप्रति असहिष्णुता विद्यमान रहेको बताइन्।
उनले भनिन्, `छोरा वा छोरी हुनु जन्मसिद्ध परिचय हो। तर हाम्रो समाजले अझै पनि यौनिक अल्पसंख्यक समुदायलाई सहज रूपमा स्वीकार गर्न सकेको छैन। छोरा भएर छोरीजस्तो व्यवहार गर्ने वा छोरी भएर छोरा जस्तो व्यवहार गर्ने व्यक्तिहरूको अवस्था निकै दर्दनाक छ।´
शक्ति समूह एक सामाजिक संस्था हो, जसले मानव बेचबिखनविरुद्धका अभियानका साथै यौनिक र लैङ्गिक समानता तथा मानवअधिकारसम्बन्धी विषयमा निरन्तर काम गर्दै आएको छ।
कार्यक्रममा शक्ति समूहका कर्णाली प्रदेश फोकल पर्सन वीरेन्द्र सोडारीले पनि प्रदेशस्तरमा लैङ्गिक समानता, यौन शोषण र पितृसत्तात्मक सोचविरुद्ध सहकार्य र सचेतना विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, समान विचारधारा भएका संस्थाहरू, प्रहरी तथा महिला र बालबालिकामैत्री समन्वय केन्द्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।











प्रतिक्रिया दिनुहोस्