२०८३ वैशाख ४ , शुक्रबार

जेन–जी आन्दोलनमा कर्णालीका तीन जिल्लामा ५२ भवन ध्वस्त, कहाँ कति भयो क्षति ?



गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी आन्दोलनका क्रममा कर्णाली प्रदेशका तीन जिल्लामा सरकारी तथा निजी भौतिक संरचनामा ठुलो क्षति पुगेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेत, जुम्ला र मुगु गरी जम्मा ५२ वटा भवनमा क्षति पुगेको हो।

कर्णाली प्रदेशकाे प्रदेश सभा भवन ताेडफाेड र आगजनी

प्रहरीको विवरणअनुसार सुर्खेतमा ४४, जुम्लामा ६ र मुगुमा २ भवन आंशिकदेखि पूर्ण रूपमा ध्वस्त भएका छन्। यीमध्ये सङ्घीय ५, प्रादेशिक ७, जिल्ला तथा स्थानीय तहका १७, व्यक्तिगत ८, अन्य सङ्घ–संस्थाका ३ र पार्टी कार्यालय १२ भवनमा क्षति पुगेको छ।

प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) केदार खनालका अनुसार जलेर पूर्ण रूपमा नष्ट भएका भवनको सङ्ख्या २० रहेको बताए । यसमा सङ्घीय १, प्रादेशिक ४, जिल्ला तथा स्थानीय तहका ७, व्यक्तिगत ४, अन्य सङ्घ–संस्थाका १ र पार्टी कार्यालय ७ भवन रहेका छन्।

सवारीसाधनतर्फ ४५ वटा गाडी र मोटरसाइकलमा क्षति पुगेको छ ।  सरकारी गाडीमध्ये ६ पूर्ण रूपमा जलेका छन् भने, १३ आंशिक क्षतिग्रस्त भएका छन्। त्यस्तै मोटरसाइकल १४ पूर्ण रूपमा जलेका र ५ आंशिक क्षतिग्रस्त छन्। निजी सवारीसाधनतर्फ २ गाडी पूर्ण रूपमा जलेका, ४ गाडी र १ मोटरसाइकल आंशिक क्षतिग्रस्त भएका एसएसपी  खनालले जनाकारी दिए ।

आन्दोलनका क्रममा प्रदेशभर १३ जना सर्वसाधारण घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको र विभिन्न अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०८२ असोज २ गते बिहीबार