रुकुमकोटबाट सिस्ने गाउँपालिका–४ दाडिङतर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनामा परेको छ। लु १ ज ४६२४ नम्बरको जिप सिस्ने गाउँपालिका–४ अन्तर्गत झाक्रीपोले क्षेत्रमा दुर्घटनामा परेको हो।
स्थानीयवासीका अनुसार उकालो सडक चढ्ने क्रममा जिप दुर्घटनामा परेको हो। दुर्घटनाका बेला जिपमा चालकसहित १४ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटनामा परी धेरै जना घाइते भएको स्थानीयले बताएका छन्। यद्यपि, घाइतेहरूको यकिन संख्या तथा उनीहरूको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।
घटनास्थलमा स्थानीयवासीले उद्धार कार्य गरिरहेका छन् भने जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन भइसकेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ।
प्रकाशित मिति : २०८३ असार १७ गते बुधबार









