२०८३ साउन ११ , सोमबार

कर्णालीका तीन जिल्लामा कृषि कार्यक्रम विस्तार



कर्णाली प्रदेशमा कृषि मूल्य शृङ्खलामार्फत महिलाको आय अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुन लागेको ‘सशक्त महिला, समृद्ध नेपाल’ अन्तर्गत परिमाण-२ को आर्थिक सशक्तिकरण कार्यक्रमअन्तर्गत परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय श्रम संगठनको समन्वय तथा सहकार्य र सेवक नेपालको सहजीकरणमा दैलेखका दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, नारायण नगरपालिका, महाबु गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको हो। उक्त कार्यक्रम दैलेख, सुर्खेत र कालिकोटको शुभकालिका गाउँपालिकामा पनि लागू हुने जनाइएको छ।

कार्यक्रममा सम्बन्धित पालिकाका उपाध्यक्ष, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, कृषि शाखा प्रमुख, उद्यम विकास शाखाका कर्मचारी तथा कृषि समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा कृषि क्षेत्रको मूल्य शृङ्खलामा महिलाको सक्रिय सहभागिता बढाउँदै उनीहरूको आयस्तर उकास्ने रणनीतिबारे छलफल गरिएको थियो।

कार्यक्रममा सेवक नेपालका परियोजना संयोजक भूमि प्रसाद काफ्ले र अन्तर्राष्ट्रिय श्रम संगठन अन्तगर्तका राष्ट्रिय परामर्शदाता कुलप्रसाद निरौलाले कार्यक्रमको उद्देश्य, कार्यान्वयन प्रक्रिया र उपलब्धिबारे प्रस्तुति दिएका थिए।

कार्यक्रमले महिला किसानहरूको आय वृद्धि र आर्थिक सशक्तीकरणलाई मुख्य लक्ष्यका रूपमा अघि सारेको छ।

यसअन्तर्गत करिब ७०० महिला किसानमध्ये कम्तीमा १५ प्रतिशतको आयमा वृद्धि गर्ने लक्ष्य राखिएको निरौलाले जानकारी दिए।

साथै, ८० महिला कृषि उद्यमीहरूले आफ्नो कृषि व्यवसाय विस्तार गर्ने उनले बताए ।

प्रकाशित मिति : २०८३ वैशाख २२ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।