हिमाली जिल्ला हुम्लामा २५औँ राष्ट्रिय लोक दोहोरी दिवस विभिन्न कार्यक्रमसहित उत्साहका साथ मनाइएको छ। दिवसको अवसर पारेर लोक संस्कृतिको प्रवर्द्धनसँगै सामाजिक सहयोगको सन्देश दिँदै हिमाली शिक्षा र विकास (हेड नेपाल) मा रहेका विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरिएको हो।

कार्यक्रमका क्रममा संस्थामा रहेका करिब ५० जना विद्यार्थीलाई कापी, कलम लगायत आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान हुम्लाका अध्यक्ष धना बुढाले जानकारी दिए। थोरै भए पनि विद्यार्थीहरूको अध्ययनमा सहयोग पुगोस भन्ने उद्देश्यले उक्त सामग्री वितरण गरिएको बुढाले बताईन् ।
नेपाली लोक संस्कृति जोगाउने र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय कलाकार, संगीतप्रेमी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा कलाकारहरूले विभिन्न लोक देउडा गीत प्रस्तुत गर्दै उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।
कार्यक्रमका वक्ताहरूले नेपाली लोक संगीतको महत्व, यसको संरक्षणको आवश्यकता र नयाँ पुस्तामा लोक संस्कृतिप्रति आकर्षण बढाउनुपर्ने विषयमा पनि चर्चा गरेका थिए।









