विहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा नयाँ सांसद चयन भएका छन्।

सुर्खेत क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका विष्णुबहादुर खड्का र क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश सापकोटा निर्वाचित भएका हुन्।
सुर्खेत–१ मा खड्काले नेकपा एमालेका ध्रुवकुमार शाहीलाई पराजित गर्दै २६ हजार ८९७ मतसहित विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी शाहीले १८ हजार ८९० मत प्राप्त गरे भने रास्वपाका टेकबहादुर सिंह ठकुरीले १४ हजार ७२९ मत पाए।
६८ हजार ७१० मत खसेको उक्त क्षेत्रमा २ हजार ४८३ मत बदर भएको थियो।
खड्का नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काका सहोदर भाइ हुन्।
यस क्षेत्रमा २०४८ सालदेखि २०६४ बाहेकका सबै संसदीय निर्वाचनमा पूर्णबहादुर खड्का उम्मेदवार बन्दै आएका थिए। २०६४ मा भने उनी समानुपातिक प्रणालीमार्फत सभासद् बनेका थिए।
सुर्खेत कांग्रेसका जिल्ला उपसभापति समेत रहेका विष्णुबहादुर खड्का मेडिकल तथा यातायात व्यवसायीका रूपमा पनि परिचित छन्।
उनकै नेतृत्वमा मध्यपश्चिम यातायात व्यवसायी संघ स्थापना भएको थियो र लामो समयसम्म उनले सो संस्थाको नेतृत्व गरेका थिए। हाल उक्त संस्था प्रालि संरचनामा सञ्चालन भए पनि उनी कार्यकारी भूमिकामा छैनन्।
उनी पूर्णबहादुर खड्काको हरेक चुनावी अभियानको संयोजन गर्दै आएका थिए। आफूले पार्टी संगठनमा पुर्याएको योगदान र नेता–कार्यकर्ताको आग्रहका कारण टिकट पाएको उनको भनाइ छ।
यस्तै, विगतमा एमाले र कांग्रेसको प्रभाव रहेको सुर्खेत क्षेत्र नं. २ मा यसपटक रास्वपाका रमेश सापकोटाले जित हासिल गरेका छन्।
सापकोटाले ३० हजार ३७८ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायण कोइरालाले १६ हजार १९६ मत प्राप्त गरे।
नेकपा एमालेका कुलमणि देवकोटाले १२ हजार ८९१ मत ल्याउँदा नेकपाका झकबहादुर मल्लले ४ हजार ५८७ मत प्राप्त गरे।
यो जितसँगै कर्णाली प्रदेशमा रास्वपाले पहिलो पटक प्रतिनिधिसभा प्रत्यक्षतर्फ खाता खोलेको छ।
वीरेन्द्रनगर–७ निवासी सापकोटा करिब २५ वर्षदेखि यातायात व्यवसायमा संलग्न छन्।
उनी रास्वपाका जिल्ला सभापति हुन्। कांक्रेविहार यातायात प्रालिका अध्यक्ष रहेका सापकोटा यातायात व्यवसायीको छाता संगठनको कर्णाली प्रदेश अध्यक्ष समेत रहँदै आएका छन्।
रास्वपामा प्रवेश गर्नु अघि उनी नेपाली कांग्रेस वीरेन्द्रनगर नगर समितिका सचिव थिए।









