२०८३ कात्तिक १२ , बुधबार

सुत्केरी भएको सातादिनमै रञ्जु दर्शनाको जित, काठमाडौं-१ बाट सांसद निर्वाचित



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रञ्जु दर्शनालाई काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। आमा बनेको सात दिनमै उनले चुनाव जित्दै संसदीय राजनीतिमा प्रवेश गरेकी हुन्।

निर्वाचन परिणामअनुसार रञ्जुले १५ हजार ४५५ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन्।

रञ्जुको राजनीतिक यात्रा भने उतारचढावपूर्ण रहँदै आएको छ। उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएपछि राष्ट्रिय स्तरमै चर्चा पाएकी थिइन्। त्यतिबेला २१ वर्षको उमेरमै उम्मेदवार बनेकी उनले २३ हजार ४३९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेकी थिइन्।

त्यसपछि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट ‘सेलरोटी’ चुनाव चिह्न लिएर उम्मेदवारी दिएकी उनले करिब ६ सय मत मात्र प्राप्त गरेकी थिइन्। यसले उनको राजनीतिक यात्रालाई उतारचढावपूर्ण बनाएको थियो।

यसपटक भने उनले केही वर्षअघि आफ्नै नेता रहेका रवीन्द्र मिश्रलाई नै पराजित गरेकी छन्। मिश्र केही वर्षअघि विवेकशील साझाका संयोजक थिए र रञ्जु त्यही राजनीतिक धारमा सक्रिय थिइन्। पछि मिश्र राप्रपामा प्रवेश गरेपछि रञ्जुले उनीसँगको सहकार्य तोडेकी थिइन्।

रञ्जु २०७० सालदेखि राजनीतिमा सक्रिय हुँदै आएकी हुन्। उनी सुरुमा गोविन्द केसीले सञ्चालन गरेको मेडिकल शिक्षा सुधारसम्बन्धी सामाजिक अभियानसँग जोडिएर सक्रिय भएकी थिइन्। त्यसपछि उज्ज्वल थापा नेतृत्वको विवेकशील राजनीतिक धाराबाट उनले आफ्नो राजनीतिक यात्रा अघि बढाएकी थिइन्।

केही महिनाअघि मात्रै रञ्जुसहितको टोलीले विवेकशील पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित गरेका थिए। पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी रञ्जु सुरुमा समानुपातिक सूचीमा परेकी थिइन्। तर आलोचना भएपछि उनी प्रत्यक्ष निर्वाचनमा उठेकी थिइन्।

सुत्केरी अवस्थामै चुनावी मैदानमा उत्रिएकी रञ्जुले आमा बनेको सात दिनमै चुनाव जित्दै आफ्नो राजनीतिक यात्रामा नयाँ अध्याय सुरु गरेकी छन्।

प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।