हिमाली जिल्ला को उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा हिमपातका कारण सडक अवरुद्ध भएपछि प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक सामग्री र कर्मचारी हेलिकप्टरमार्फत पठाइएको छ।

फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै ५ हजार २ सय मिटर उचाइको न्यालु लेक र ४ हजार ९४९ मिटर उचाइको नारा लेक क्षेत्रमा बाक्लो हिमपात भएपछि स्थलमार्ग पूर्ण रूपमा बन्द भएको थियो। सडक सञ्जाल अवरुद्ध भएसँगै वैकल्पिक उपायस्वरूप नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको हो।
मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालका अनुसार नाम्खा–६ अन्तर्गत हिमशिखर प्राथमिक विद्यालय तिल, सुनखानी आधारभूत विद्यालय हल्जी र भृकुटी आधारभूत विद्यालय जाङमा निर्वाचन सामग्री तथा जनशक्ति पुर्याइएको छ। ती केन्द्रहरूमा १८ जना कर्मचारी र नेपाल प्रहरीसहित ५४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

यसैगरी नाम्खा–४ को हिमायल प्राथमिक विद्यालय, चाला मतदान स्थलमा पनि हेलिकप्टरबाट सामग्री ढुवानी गरिएको छ। दुर्गम भौगोलिक अवस्था र प्रतिकूल मौसमका बीच पनि निर्वाचन तयारीलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
उक्त मतदान केन्द्रहरुमा चार वटा उडान गरेर कर्मचारी, सुरक्षाकर्मी तथा निर्वाचन सामाग्रि ओसारेको अधिकृत बरालले बताए ।









