२०८३ भदौ ३१ , बुधबार

सरस्वती माविमा सुरक्षित विद्यालय तथा विपद् प्रतिकार्यसम्बन्धी एकदिने कार्यशाला सम्पन्न



सुर्खेतको लेकबेसी नगरपालिका-६ स्थित सरस्वती माध्यमिक विद्यालयमा सुरक्षित विद्यालय तथा विपद् प्रतिकार्यसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ।

कारखाना समूहअन्तर्गत सञ्चालन भइरहेको सिभिल सोसाइटी इम्पावरमेन्ट फर एकाउन्टेबल एजुकेशन कार्यक्रमको सहयोगमा कर्णाली सिकाइ समूहका सदस्य आवाज संस्थाले उक्त कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष कौशिला सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यशालामा शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति सदस्य तथा अन्य सरोकारवालाबीच विद्यालय सुरक्षा र विपद् प्रतिकार्यका विषयमा विस्तृत छलफल गरिएको थियो।

सहभागीहरूलाई विपद् जोखिम न्यूनीकरणका अवधारणा, विद्यालय सुरक्षा प्रोटोकल तथा स्थानीय विपद् जोखिम न्यूनीकरण संरचनासँगको समन्वय संयन्त्रबारे जानकारी गराइएको थियो।

कर्णाली सिकाइ समूहका सदस्य तपेन्द्र सावदले सहजीकरण गर्दै विपद् व्यवस्थापन समितिको भूमिका र जिम्मेवारीबारे अभिमुखीकरण गराएका थिए।

यस क्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूलाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी अन्तरक्रियात्मक सत्रमार्फत व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।

विद्यालयमा यसअघि नै सामुदायिक जोखिम नक्साङ्कन, सेवा प्रदायक निकायहरूको नक्साङ्कन तथा सुरक्षित स्थानहरूको पहिचान र स्तरीकरण कार्य सम्पन्न भइसकेको जानकारी दिए ।

प्रकोप पहिचान तथा स्तरीकरणका क्रममा विद्यालय क्षेत्रभित्र सबैभन्दा बढी जोखिम सडक दुर्घटनाको रहेको निष्कर्ष निकालिएको थियो।

कार्यक्रमकै अवसरमा विद्यालय व्यवस्थापन समितिकी अध्यक्षको संयोजकत्वमा विद्यालय विपद् व्यवस्थापन कार्यदल गठन गरिएको छ। कार्यक्रममा शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्य, विद्यार्थी बालक्लबका प्रतिनिधि तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८२ फागुन ३ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।