सुर्खेतको वीरेन्द्रनगरमा बालबालिका तथा किशोर–किशोरीको मानसिक स्वास्थ्य सुधारका लागि सरोकारवाला निकायबीच समन्वय बैठक सम्पन्न भएको छ। सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय र सीएमसी नेपालको संयुक्त आयोजनामा तथा युनिसेफको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको थियाे ।

कार्यक्रममा सीएमसी नेपालका संयोजक हिमाल गैरेले बालबालिका तथा किशोर–किशोरीको मानसिक स्वास्थ्य सुधारका लागि सरकारी निकाय, स्थानीय तह, विद्यालय र समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै दीर्घकालीन र दिगो कार्यक्रम बिना समस्या समाधान कठिन हुने बताए। मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर समयमै लगानी र हस्तक्षेप गर्न सके भावी पुस्ताको जीवनस्तर सुधार गर्न सकिने उनले बताए ।
यस्तै, संस्थाले हाल छ वटा विभिन्न परियोजनामार्फत मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराए। उनका अनुसार पछिल्ला अध्ययनहरूले प्रत्येक आठ जनामध्ये एक जनामा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या देखिने गरेको तथ्य उजागर गरेका छन्।
कार्यक्रममा मानसिक रोग विशेषज्ञ डा. शुशिल समदर्शीले बालबालिका तथा किशोर–किशोरीमा मानसिक समस्या क्रमशः बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। अभिभावकको व्यस्तता र समय व्यवस्थापनको कमीका कारण बालबालिका मानसिक तनावमा पर्ने गरेको उल्लेख गर्दै त्यसको उचित व्यवस्थापनका उपाय अझै कमजोर रहेको उनले बताए। विद्यालय तहमा लागुऔषध दुव्र्यसनको जोखिम बढ्दै गएकाले विद्यार्थी, शिक्षक तथा अभिभावक लक्षित सचेतनामूलक कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो।
डा. समदर्शीले पछिल्लो समय मानसिक दबाबका कारण जीवनप्रति नकारात्मक सोच बढ्ने अवस्था देखिन थालेको उल्लेख गर्दै चिन्ता, निराशा र एक्लोपनले मानिसलाई गलत निर्णयतर्फ धकेल्ने जोखिम रहने बताए। समयमै ध्यान नदिए आगामी दिनमा मानसिक स्वास्थ्य समस्या प्रत्येक परिवारको साझा चुनौती बन्न सक्ने उनको धारणा थियो।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव ढोलकराज ढकालले मानसिक स्वास्थ्य समस्या रोकथाम तथा व्यवस्थापनका लागि प्रदेश सरकारले दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता औंल्याए।
त्यस्तै, स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले मानसिक स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध भए पनि आवश्यकता अनुसार पर्याप्त नभएको स्वीकार गर्दै स्थानीय तह र समुदायस्तरमै सचेतना विस्तार गर्नुपर्नेमा जोड दिए।
सीएमसी नेपालले सुर्खेतका पञ्चपुरी, वीरेन्द्रनगर, गुर्भाकोट र भेरीगंगा नगरपालिकामा केन्द्रित भएर मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेकाे आयाेजकले जनाएकाे छ । कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि र स्वास्थ्य शाखा कार्यलयका कर्मचारीको उपस्थिति रहेको थियो ।









