२०८३ साउन १२ , मंगलबार

पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन



पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ मंगलबार विमोचन गरिएको छ। सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, संघर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने नियात्रा तथा स्मृतिसंग्रह ‘घाटगाउँ’ काठमाडौंको चियासागरमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।

कार्यक्रममा लेखक विवेकले आफ्ना साथी तथा पूर्वसहकर्मीहरूसँगै पुस्तक विमोचन गरे। सुर्खेतको चौकुने गाउँपालिका–९ घाटगाउँमा जन्मिएका विवेकले अध्ययन र संघर्षको यात्रामा अमेरिका पुगेपछि आफ्नै मातृभूमिको नामबाट पुस्तक लेखेका हुन्।

पाँचपोखरी प्रकाशन गृहबाट प्रकाशित ‘घाटगाउँ’मा लेखकले आफ्नो स्कुले जीवन, उच्च शिक्षा पढ्दाका संघर्ष, रेडियो तथा अनलाइन पत्रकारितामा भोगेका उतारचढाव र पछिल्लो समय पर्यटन अभियानमा संलग्न हुँदा सामना गर्नुपरेका चुनौतीपूर्ण अनुभवहरू समेटेका छन्।

पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम आफ्नै गाउँस्थित सरस्वती माध्यमिक विद्यालयमा पुस्तकालय निर्माणका लागि खर्च गर्ने प्रतिबद्धता पनि लेखकले जनाएका छन्। यस उद्देश्यका लागि विद्यालयमै समेत ‘घाटगाउँ’ पुस्तक सार्वजनिक गरिएको उनको भनाइ छ।

विमोचन कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै विवेकले भने, “सुर्खेतदेखि अमेरिकासम्म पुग्दाको यथार्थ सपना र संघर्षको भोगाइ इमान्दार रूपमा पुस्तकमा उतारेको छु। आफ्नो सपनालाई माया गर्ने हरेक पाठकले यो पुस्तकमा आफ्नै कथा भेट्नेछन्।”

प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।