२०८३ भदौ २८ , आइतबार
प्रतिनिधिसभा निर्वाचन

दाजुभाई आमनेसामने मैदानमाः डोल्पामा प्रतिनिधिसभा चुनाव रोचक र प्रतिस्पर्धा



डोल्पामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन यसपटक असाध्यै रोचक र प्रतिस्पर्धा हुने देखिएको छ । एउटै घरका सहोदर दाजुभाइ ठूला दुई राजनीतिक दलबाट आमनेसामने चुनावी मैदानमा उत्रिएका छन् । जिल्लाको राजनीतिक माहोल तातिँदै गएको छ भने मतदाताबीच रोचक र उत्सुकता बढाएको छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) डोल्पाले प्रत्यक्षतर्फ धनबहादुर बुढालाई उम्मेदवार बनाएको छ । उता नेपाली कांग्रेसले कर्णबहादुर बुढालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार अघि सारेको छ । धनबहादुर र कर्णबहादुर सहोदर दाजुभाइ हुन् ।

धनबहादुर बुढा डोल्पाको राजनीतिमा अनुभवी र परिचित नाम हुन् । उनले २०७०, २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचन जित्दै निरन्तर संसदमा डोल्पाको प्रतिनिधित्व गरेका छन् । निवर्तमान सांसदसमेत रहेका बुढा संघीय सरकारको सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका अनुभवि नेता हुन् ।

उनी राप्रपाबाट राजनीतिक यात्रा सुरु गरी नेकपा एमाले, त्यसपछि नेकपा (एकीकृत समाजवादी) हुँदै हाल नेकपामा आइपुगेका छन् । पार्टी विभाजन र सत्ता समीकरणसँगै उनी निरन्तर राजनीतिक मूलधारमै सक्रिय रहँदै आएका छन् ।

उता नेपाली कांग्रेसबाट उम्मेदवार बनेका कर्णबहादुर बुढा पनि डोल्पाको राजनीतिमा उस्तै प्रभावशाली र अनुभवी पात्र मानिन्छन् । उनी राप्रपाका केन्द्रीय सदस्य रहँदै २०७६ सालमा नेपाली कांग्रेस प्रवेश गरेका थिए । केन्द्रीय सदस्यकै हैसियतमा कांग्रेसमा प्रवेश गरेका कर्णबहादुर हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएका छन् । संगठन निर्माण, जनसम्पर्क र स्थानीय राजनीतिमा उनको पकड बलियो मानिन्छ ।

यसअघि पनि विभिन्न निर्वाचनमा यी दाजुभाइका नाम उम्मेदवारका रूपमा अगाडि आए पनि अन्तिम समयमा एकले अर्कोलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिने गरेका उदाहरण छन् । त्यसैले धेरैले यसपटक पनि त्यस्तै होला भन्ने अनुमान गरेका थिए ।

तर फरक–फरक पार्टीबाट दुवै जनाको उम्मेदवारी अन्तिम रूपमै कायम भएपछि डोल्पाको राजनीतिक समीकरण नै फेरिएको छ । अब चुनावी मैदानमा दाजुभाइबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

दुई ठूला दलका तर्फबाट एउटै घरका सहोदर दाजुभाइ भिड्दा मतदाता पनि द्विविधामा परेका छन् । राजनीतिक इतिहास बोकेका दाजुभाइ फरक–फरक झन्डा बोकेर मैदानमा उत्रिँदा डोल्पाको चुनावी माहोल थप तातिएको छ । फागुन २१ गतेको मतपरिणामले केवल एक जना सांसद मात्र चयन गर्ने छैन, दाजुभाइको लामो राजनीतिक यात्रामा नयाँ अध्याय पनि कोर्नेछ ।

उम्मेदवार निश्चित, चुनावी तयारी तीव्र
डोल्पामा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार टुङ्गो लगाउने क्रम तीव्र बनेको छ । हालसम्म पाँच राजनीतिक दलले उम्मेदवार तय गरिसकेका छन् भने बाँकी दलहरू अन्तिम छलफलमा जुटेका छन् । उम्मेदवार सार्वजनिक भएसँगै संगठन विस्तार, घरदैलो र मतदाता भेटघाट कार्यक्रम बढाइएको छ ।

नेकपा एमालेले जिल्ला अध्यक्ष लंकबहादुर रोकायालाई उम्मेदवार बनाएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विकास बुढा चुनावी मैदानमा उत्रँदै छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले देवसिंह ऐडीलाई उम्मेदवार अघि सारेको छ भने उज्यालो नेपाल पार्टीले दिलबहादुर विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हरिप्रसाद डाँगी र ओमेन्द्र केसी स्वतन्त्रलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । माघ ६ गते मनोनयन दर्ताको मिति नजिकिँदै जाँदा डोल्पाको चुनावी माहोल थप तातिएको छ ।

२४ हजारभन्दा बढी मतदाता
डोल्पा जिल्लामा कुल २४ हजार १ सय १५ जना मतदाता कायम भएको छन् । जसमा पुरुष ११ हजार ९ सय २८ जना र महिला १२ हजार १ सय ८७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।

६८ मतदानस्थलमध्ये २६ वटा अति संवेदनशील, २४ वटा संवेदनशील र १८ वटा सामान्य वर्गमा राखिएका छन् । भौगोलिक विकटता र सुरक्षा अवस्थालाई आधार मानेर वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।