२०८३ भदौ २८ , आइतबार
प्रतिनिधिसभा निर्वाचन

नेकपा र एमालेले कर्णालीका १० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंङ्ग्याए, कालीकोट–मुगुमा नेकपाको अझै सहमति जुटेन



कर्णाली प्रदेशमा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा (एमाले) दुवैले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएका छन् ।

नेकपाले १२ मध्ये १० निर्वाचन क्षेत्रमा उम्मेदवार तय गर्दा कालीकोट र मुगुमा सहमति जुट्न सकेको छैन । मंगलबार उम्मेदवार मनोनयन दर्ताको निर्वाचन आयोगको कार्यतालिका छ ।
नेकपाले रुकुम पश्चिमबाट गोपाल शर्मालाई उम्मेदवार बनाएको छ । जनार्दन शर्माले पार्टी छोडेपछि उनलाई अघि सारिएको हो । जुम्लाबाट नरेश भण्डारी उम्मेदवार बनेका छन् भने दैलेख–१ बाट अम्बरबहादुर थापा र दैलेख–२ बाट योगेन्द्रबहादुर शाही उम्मेदवार भएका छन् ।

थापा पूर्वसमाजवादी र शाही पूर्वएमाले नेता हुन् । एमाले विभाजनपछि थापा समाजवादीमा लागेका थिए भने शाही २०७९ सालको प्रदेशसभा निर्वाचनमा एमालेबाट टिकट नपाएपछि माओवादी प्रवेश गरेका थिए । पराजयपछि तत्कालीन माओवादीले शाहीलाई कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्ष बनाएको थियो ।

त्यस्तै, सुर्खेत–१ बाट जीतबहादुर राना, सुर्खेत–२ बाट झकबहादुर मल्ल, डोल्पाबाट धनबहादुर बुढा, जाजरकोटबाट शक्तिबहादुर बस्नेत, सल्यानबाट रमेश मल्ल र हुम्लाबाट दिपेन्द्र रोकाय नेकपाका उम्मेदवार छन् ।

कालीकोटमा कर्णालीका संस्थापक मुख्यमन्त्री तथा तत्कालीन नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही र अन्य नेताबीच टिकटको विषयमा सहमति जुट्न सकेको छैन । कालीकोट एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र हो, जहाँ शाही २०७० सालको संविधानसभा, २०७४ सालको प्रदेशसभा र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए ।

उनी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वास पात्र मानिन्छन् । यसअघि आकांक्षी धेरै भएपछि शाहीकै पहलमा संयोजक प्रचण्डलाई कालीकोटबाट एकल सिफारिस गरिएको थियो । मुगुमा पनि तत्कालीन एकीकृत समाजवादी र माओवादीबीच कसले टिकट लिने भन्ने विषयमा विवाद कायमै छ ।

यता, नेकपा (एमाले) ले कर्णाली प्रदेशका १२ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याएको छ ।

एमालेले रुकुम पश्चिममा नन्दराम देवकोटा, सल्यानमा गुलावजंग शाह, सुर्खेत–१ मा ध्रुव शाही, सुर्खेत–२ मा कुलमणि देवकोटा, जाजरकोटमा डम्बरबहादुर सिंह, दैलेख–१ मा रविन्द्रराज शर्मा, दैलेख–२ मा लक्ष्मीप्रसाद पोखरेल, डोल्पामा लङक रोकाया, हुम्लामा दल फडेरा, जुम्लामा शान्तिलाल महत, कालीकोटमा नागेन्द्र शाही (नेशनल) र मुगुमा पूर्णबहादुर रोकाया उम्मेदवार रहेका छन् ।

सल्यानबाट गुलावजंग शाह एकल सिफारिसमा उम्मेदवार बनेका हुन् । २०७४ मा प्रदेशसभा सांसद बनेका शाह २०७९ मा पराजित भए पनि पछि एमालेको पोलिटब्यूरो सदस्य हुँदै कर्णाली प्रदेश अध्यक्ष बनेका थिए । सुर्खेत–१ मा ध्रुव शाही र सुर्खेत–२ मा कुलमणि देवकोटा चुनावी मैदानमा होमिएका छन् ।

सुर्खेत–१ मा शाही २०७९ मा कांग्रेसका पूर्णबहादुर खड्कासँग पराजित भएका थिए भने सुर्खेत–२ मा देवकोटा पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् ।

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।