
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जाजरकोटका नेता गणेशप्रसाद सिंहले प्रतिनिधिसभा सदस्य निर्वाचनको टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन्।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि टिकट वितरणमा पार्टी नेतृत्वले एकपक्षीय निर्णय गरेको आरोप लगाउँदै उनले पार्टी छोड्ने घोषणा गरेका हुन्।
सिंहका अनुसार १० पुस २०८२ मा सम्पन्न नेकपा जाजरकोटको बैठकमा शक्तिबहादुर बस्नेतले निर्वाचनमा उम्मेदवार नबन्ने स्पष्ट बताएका थिए।
तर त्यसपछि पनि पार्टी केन्द्रले उनै बस्नेतलाई टिकट दिएपछि आफू पार्टी परित्याग गर्न बाध्य भएको सिंहको भनाइ छ।
प्रतिनिधिसभा सदस्यका लागि शक्तिबहादुर बस्नेतसहित गणेशप्रसाद सिंह, रामदीप आचार्य, कृष्ण बीसी, पार्वती थापा र महेश अधिकारीको नाम सिफारिस गरिएको थियो।
तर पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः बस्नेतलाई नै टिकट दिएपछि सिंहले असहमति जनाउँदै पार्टी छोड्ने निर्णय गरेका हुन्।
सिंहले पार्टी विधानविपरीत एउटै व्यक्तिलाई निर्वाचनमा उठ्न टीका लगाएर आदेश दिने तथा अध्यक्षस्तरबाट निरन्तर दबाब सिर्जना गरिएको आरोप लगाएका छन्। यसले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बनेको उनको भनाइ छ।
गणेशप्रसाद सिंह २०७४ सालको निर्वाचनमा कर्णाली प्रदेशसभामा निर्वाचित भएका थिए। उनको यो विद्रोहले जाजरकोटमा शक्तिबहादुर बस्नेतको चुनावी सम्भावनामा असर पर्ने देखिएको छ।
बस्नेत माओवादी मूलधारको राजनीतिमा आएपछि पार्टी संयोजक प्रचण्डबाट सबैभन्दा बढी लाभ लिने नेतामध्ये एक मानिन्छन्।
उनी २०६४ सालदेखि भएका सबै प्रतिनिधिसभा निर्वाचनमा टिकट पाउँदै आएका छन् र लामो समयसम्म मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।









