२०८३ साउन ११ , सोमबार

सरस्वती माविमा विपद् जोखिम र प्रकोप पहिचानसम्बन्धी अभिमुखीकरण सम्पन्न



सुर्खेतको लेकबेसी नगरपालिका–६ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा विपद् जोखिम र प्रकोप पहिचान तथा स्तरीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कारखाना समूहअन्तर्गत सञ्चालन भइरहेको सिभिल सोसाइटी इम्पावरमेन्ट फर एकाउन्टेबल एजुकेशन कार्यक्रमको सहयोगमा कर्णाली सिकाइ समूहका सदस्य संस्था आवाज ले उक्त कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष कौशिला सुनारको अध्यक्षता तथा वडा नं. ६ का वडाध्यक्ष प्रतिमान बाकाबलको विशेष उपस्थितिमा सम्पन्न भएको थियो। अभिमुखीकरण कार्यक्रममा विद्यालयमा सम्भावित विपद् जोखिम, विपद् प्रतिकार्य योजना तथा विद्यालय सेवा क्षेत्रभित्र रहेका जोखिमहरूको पहिचान र स्तरीकरणबारे कर्णाली सिकाइ समूहका सदस्य तपेन्द्र सावदले सहजीकरण गरेका थिए।

कार्यक्रमका क्रममा सामुदायिक जोखिम नक्साङ्कन, सेवा प्रदायक निकायहरूको नक्साङ्कन तथा सुरक्षित स्थानहरूको पहिचान र स्तरीकरणसमेत गरिएको थियो।

कार्यक्रमको समापन गर्दै वडाध्यक्ष बाकाबलले विद्यालयलाई विपद् जोखिमप्रति सचेत बनाउने र पूर्वतयारीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउँदै भने, “विपद् कहिल्यै बाजा बजाएर आउँदैन, त्यसैले सबैले सजगता अपनाउनु आवश्यक छ।” प्रकोप पहिचान तथा स्तरीकरणका क्रममा विद्यालय क्षेत्रभित्र सबैभन्दा बढी जोखिम सडक दुर्घटनाको रहेको निष्कर्ष निकालिएको थियो।

यस्तै, सहप्रधानाध्यापक पार्वति पोखरेलले कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताउँदै विद्यालय क्षेत्रभित्र रहेका जोखिमहरूको प्रकोप स्तरीकरण तथा पहिचान गरिएको समस्यालाई मध्यनजर गर्दै आगामी दिनमा आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्षको संयोजकत्वमा विद्यालय विपद् व्यवस्थापन कार्यदल गठन गरिएको छ।

कार्यक्रममा शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्य, विद्यार्थी बालक्लबका प्रतिनिधि तथा अभिभावकहरूको  उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८२ पुस ३० गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।