
सुर्खेकाे बराहताल गाउँपालिकाका अध्यक्ष भिमबहादुर भण्डारी पछिल्लो समय श्रमदान अभियानमा सक्रिय देखिएका छन् । समाजमा क्रमशः हराउँदै गएको श्रम संस्कारप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष भण्डारीले त्यसको पुनर्जागरण आवश्यक रहेको भन्दै निरन्तर श्रमदानमा जुटिरहेका हुन् ।
‘बराहताल गाउँपालिकाको शान; कृषि, पर्यटन, वन, शिक्षा र पूर्वाधार हाम्रो अभियान’ भन्ने नारासहित पाँच वर्षे गाउँ योजना निर्माण गरी कार्यान्वयनमा लागेर योजनालाई व्यवहारमै उतार्न आफू अग्रसर भएको अध्यक्ष भण्डारीले बताए । अरूको मात्र प्रतीक्षा नगरी विकास निर्माणका काममा स्वयं सहभागी हुँदै श्रमदान गरिरहेको उनको भनाइ छ ।
अध्यक्ष भण्डारी गाउँपालिका भित्र सञ्चालन भइरहेका विभिन्न विकास निर्माण कार्य, वडा स्तरीय योजना तथा नापजाँच कार्यमा प्रत्यक्ष सहभागिता जनाउँदै आएका छन् । यसबाट स्थानीयवासीहरू श्रमदानतर्फ प्रेरित भएको उनीहरू बताउँछन् ।

संघीय सरकारको अर्थ मन्त्रालयबाट प्राप्त समपूरक अनुदानअन्तर्गत बराहताल गाउँपालिकाले २०७६ जेठ १० गते सूर्यदय ऊर्जा प्रालि, काठमाडौंसँग ३ करोड ८६ लाख ३४ हजार रुपैयाँमा सम्झौता गरी तरङ्गा लिफ्ट सिँचाइ आयोजना निर्माण गरेको थियो । उक्त आयोजना ०७८ असार १० गते सम्पन्न भई केही समय सञ्चालनमा आएता पनि पुनः सञ्चालनमा आउन सकेन ।
तर, वर्षायाममा भेरी नदीको भेलका कारण मोटर तथा पानी संकलन ट्याङ्कीमा बालुवा थुप्रिएपछि आयोजना अवरुद्ध बनेको थियो । तरङ्गा लिफ्ट सिँचाइ आयोजना मार्फत भेरी नदीको पानी लिफ्ट प्रविधिको प्रयोग गरी तरङ्गा गाउँमा सिँचाइ हुँदै आएको थियो ।
लिफ्ट सिँचाइ आयोजनाको मुख्य पानी संकलन स्थलमा जम्मा भएको बालुवा र फोहर हटाई आयोजना पुनः सञ्चालन गर्ने उद्देश्यले गाउँपालिका अध्यक्ष भण्डारीको पहलमा श्रमदान अभियान सुरु गरिएको हो । अध्यक्ष भण्डारीको नेतृत्वमा पुस ११ गतेदेखि २० गतेसम्म श्रमदान कार्य सञ्चालन भइरहेको छ ।

वर्षायाममा भेरी नदीको भेलका कारण अवरुद्ध भएको पानी संकलन ट्याङ्कीको बालुवा र फोहर हटाउने काम सम्पन्न भइसकेको भए पनि सिँचाइका लागि पानी पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने अध्यक्ष भण्डारीले जानकारी दिए । उनका अनुसार हाल ट्याङ्कीमा नदीको बालुवा पुनः प्रवेश हुन नदिन बाँध र नाला निर्माणको काम भइरहेको छ ।
अध्यक्ष भण्डारीकाे कामलाई प्रशंसा गर्दै स्थानीय अस्मिता शाहीले जनप्रतिनिधिको व्यवहारले जनविश्वास बढाएको बताइन् । ‘अध्यक्षज्यू बिहानदेखि रातिसम्म हामीसँगै श्रमदानमा खटिनु भएको देख्दा मन छोएको छ । जनप्रतिनिधि जनतासँगै काममा उत्रिँदा विकास छिटो हुने विश्वास बढेको छ,’ उनले भनिन् ।
स्थानीय युवा गणेश उपाध्यायले श्रम संस्कारको पुनर्जागरण भएको उल्लेख गरे । ‘अहिले धेरै युवा श्रम गर्न हिच्किचाउँछन्, तर अध्यक्षज्यूले आफैं उदाहरण प्रस्तुत गरेपछि हामी पनि श्रमदानमा सहभागी भएका हौं । उहाँ बिहानदेखि राति अबेरसम्म स्थानीयहरूसँगै काम गरिरहनुहुन्छ, जसले गाउँमा एकता र सहकार्यको भावना बलियो बनाएको छ,’उनले भने।
त्यस्तै, वडा सदस्य कल्पना सुनारले श्रमदान अभियानले स्थानीय स्वामित्व बढाएको प्रतिक्रिया दिइन् । ‘लिफ्ट सिँचाइ जस्तो महत्वपूर्ण आयोजना स्थानीयकै श्रमबाट सञ्चालनमा आउनु गौरवको विषय हो। यसले आयोजनाप्रति अपनत्व र जिम्मेवारी दुबै बढाएको छ,’ उनले भनिन्।
अध्यक्ष भण्डारीले अन्य युवाहरूलाई विकास निर्माणका काममा सक्रिय सहभागिता जनाउँदै श्रमदान अभियानमा सरिक हुन आह्वानसमेत गरेका छन् ।









