कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको कविता संग्रह “शाश्वत सत्य” शनिबार वीरेन्द्रनगरमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच विमोचन गरिएको छ।

प्रमुख प्रगतिशील लेखक संघका अध्यक्ष डा. मधुसूदन घिमिरे, डा. नवराज लम्साल, ओम रिजाललगायतका साहित्यकारहरुले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे।
कार्यक्रममा लेखक मन्त्री भण्डारीले आम नागरिकका रूपमा आफूले देखेका–भोगेका वास्तविकतालाई कवितामा अभिव्यक्त गर्ने प्रयास गरेको बताए।
प्रमुख अतिथि डा. घिमिरेले “शाश्वत सत्य” ले नेपाली साहित्यमा नयाँ इँटा थपेको उल्लेख गर्दै मन र मस्तिष्कको सन्तुलन खोज्ने कृति भएको धारणा राखे।
समीक्षक तथा सञ्चारकर्मी डा. नवराज लम्सालले राजनीति र साहित्यलाई छुट्याउँदै विवेकपूर्ण दृष्टिकोणमा आधारित कविता संग्रह रहेको बताए।
साहित्यकार ओम रिजालले कृतिले जीवनका अँध्यारा पक्षहरूलाई हटाउँदै उज्यालोतर्फ उन्मुख हुने सन्देश दिएको उल्लेख गरे।
मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक तथा साहित्यकार वासुदेव पाण्डेले “शाश्वत सत्य” अञ्चलिक स्वादले भरिएको कविता संग्रह भएको टिप्पणी गर्दै कर्णालीको इतिहास, संस्कृति, प्रेम, अभाव र जीवनका विभिन्न कालखण्डहरूलाई सुंदर ढंगले समेटिएको बताए।
विमोचन कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्का, रणसिंह परियार, जुम्कित लामा, मिलन खड्का, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव जहवारलाल हमालसहित विभिन्न विधाका साहित्यकारहरूको सहभागिता रहेको थियो।








