२०८३ भदौ २६ , शुक्रबार

ग्यारेजमा भेटिएको जीवनको सफलता

ड्राइभर बन्ने सपना बोकेका ‘आकाश’ बने ग्यारेजका मालिक



सुर्खेतको सिम्ताली चोकमा बिहानैदेखि एउटा मोटरसाइकल ग्यारेज व्यस्त देखिन्छ । धुवाँ मिसिएको इन्जिनको घरघर, औजारको खटपट र तेलले भिजेका हातले काम गरिरहने मेकानिकलाई ग्राहकहरूले ‘आकाश’ भनेर बोलाउँछन् । उनको वास्तविक नाम महेन्द्र थापा हो ।

तर आफ्नै रोजाइको नाम भएकाले सबैले उनलाई आकाश भनेर चिन्छन् । यही ग्यारेजले उनलाई जीवनमा सङ्घर्षपछिको स्थायित्व र सफलताको बाटो देखाइदिएको छ ।

ड्राइभर बन्ने सपना, मेकानिकको बाटो
आकाश जाजरकोट, जुनीचाँदे गाउँपालिका–१ मा जन्मिएका हुन् । सानैदेखि गाडी सिकेर ड्राइभर बन्ने उनको ठुलो सपना थियो । २०६९ सालमा उनी पहिलो पटक वीरेन्द्रनगर सुर्खेत आए । एक जना चिनजानको साथीले मोटरसाइकल ग्यारेजमा खाली भएको ठाउँबारे कुरा गराइदिएर उनले ग्यारेजमा काम सुरु गरे ।

एरीचोकको ग्यारेजमा महिनाको तीन हजार तलबमा करिब एक वर्ष काम गरे । पेट पाल्न त भयो तर भविष्यको सपना त्यो पैसाले धानेन । थकाइ धेरै, आम्दानी थोरै भएपछि उनले ग्यारेज छाडेर ड्रिप बोरिङमा काम सुरु गरे ।

बाढी, भूकम्प र सङ्घर्ष
२०७१ साल साउन २९ गते आएको बाढीले उनको जीवन फेरि अस्तव्यस्त बनायो । खानेपानी कार्यालयको घरमा साथीहरूसँग बस्दै गरेका उनीहरूको कोठा बाढीले बगायो ।

लगाएको कपडाबाहेक केही बाँकी रहेन । त्यसपछि उनीहरू चितवनतिर लागे। केही समय त्यहाँ काम गरेपछि काठमाडौँ, गोरखा, चित्लाङ हुँदै मजदुरीमै दिन काट्न थाले ।

यसै क्रममा आकाशले विवाह गरे । २०७२ साल वैशाख ११ गते विवाह गरेर भोलिपल्टै काममा निस्किएका उनी १२ गतेको विनाशकारी भूकम्पमा परे । “त्यो दिन सम्झँदा अझै काँप्छु,” उनी भन्छन्, नव विवाहित जीवन सुरु गरेको थिएँ, तर भूकम्पको त्रासले सबै खुसी ढाक्यो ।

भूकम्पपछि महिना दिनसम्म खुला चौरमा बस्नु¥यो। त्यसपछि सुर्खेत फर्किए र रोजगारी खोज्दै भारतको हिमाचल प्रदेशको सिम्लातिर लागे ।

५० हजारबाट सुरु भएको ग्यारेज
सिम्लाबाट पाँच महिनाको मेहनतपछि उनले जम्मा गरेको ५० हजार रुपैयाँ जीवनको टर्निङ पोइन्ट बन्यो । सुर्खेत फर्किएर त्यही पैसाले आफ्नै ग्यारेज सुरु गरे ।

सुरुमा बौद्ध चोकमा खोलेको ग्यारेज चाहे जस्तो चलेन । भाडा तिर्ने, खान बस्नको भर थियो । तर हार भने नमानेको उनी त्यही कुरालाई आज पनि सम्झन्छन् ।

एक वर्षपछि ग्यारेजलाई सिम्ताली चोकमा सार्दा भने काम बढ्न थाल्यो । चहलपहल बढी भएकाले ग्राहक आउन थाले । कोरोनाको लकडाउनले केही समय अवरोध ल्याए पनि त्यसपछि कामको चाप बढ्दै गयो ।

व्यवसाय बढेपछि आकाशले जग्गा किने । दुई लाख रुपैयाँ आफ्नै थियो । बाँकी रकम उनले सापटी लिएर भए पनि जग्गा किनेर त्यसैलाई ऋणमा राखेर मिनी घर बनाउन सफल भए । सुर्खेतमा जग्गा किन्न सकिन्न भन्ने मेरो धारणा थियो । तर श्रीमतीले आट दिइन्, गरेपछि हुन्छ भनेपछि साहस आयो ।

महिनामा लाखौँ आम्दानी
आज आकाश महिनामा करिब एक लाख रुपैयाँसम्म आम्दानी गर्ने गर्छन् । खर्च कटाएर करिब ३० हजार रुपैयाँ बचत हुन्छ । ग्यारेजमा एक जना कर्मचारी छन् । श्रीमती पनि सधैँ सघाउँछिन् ।

तीन सन्तानसहित पाँच सदस्यीय परिवार अब सहज जीवनमा छ । ग्राहकलाई सधैँ हँसिला मुखले स्वागत गर्ने आकाश भन्छन्, ‘ड्राइभर बन्ने सोच थियो, तर मेकानिकल बनेर आज परिवारलाई सुखी बनाएर राख्न पाएको छु ।,’

सङ्घर्षबाट सफलता
बाढी, भूकम्प, बेरोजगारी र गरिबी—यी सबै चुनौती पार गरेर आकाश आज सुर्खेतका सफल उद्यमी बनेका छन् । उनी भन्छन्, ‘जिन्दगीमा परिस्थिति जस्तोसुकै आए पनि आट र मेहनत छ भने सफलता असम्भव हुँदैन ।,’ जीवनका सबैभन्दा कठिन मोडहरू पार गर्दै आकाशले सुर्खेतमा मोटरसाइकल ग्यारेजबाटै आफूले सोचे भन्दा राम्रो आम्दानी गरेका छन् ।

बाढीले बासस्थान बगायो, भूकम्पले नव विवाहित जीवनलाई त्रासदीले घे¥यो, बेरोजगारी र गरिबीले बारम्बार चुनौती थप्यो । तर यी सबै विपत्तिहरूले उनलाई हराएनन्, बरु अझै बलियो बनाए । आकाश भन्छन्, ‘परिस्थिति कस्तो आए पनि मानिसले हार मान्न हुँदैन । मैले पनि धेरै पटक जीवनले थिच्यो, तर उठ्ने आट गरेँ । आज यहाँ छु । अरूलाई पनि भन्न चाहन्छु—अवसर कहिल्यै हराउँदैन, खोज्ने आँट मात्र चाहिन्छ ।

प्रकाशित मिति : २०८२ भदौ ८ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।