२०८३ वैशाख ८ , मंगलबार

मुख्यमन्त्रीको अभिव्यक्तिप्रति होटल व्यवसायी संघ सुर्खेतको आपत्ति



कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सार्वजनिक रूपमा व्यक्त गरेको “अब कुनैपनि होटलमा सरकारी कार्यक्रम नगर्ने” भनाइप्रति होटल व्यवसायी संघ सुर्खेतले गम्भीर आपत्ति जनाएको छ।

होटेल व्यवसायी संघ सुर्खेतकी अध्यक्ष टिका वलीले जारी गरेको विज्ञप्तिमा यस्तो अभिव्यक्ति व्यवसायमैत्री नभई होटल तथा पर्यटन क्षेत्रमा थप संकट उत्पन्न गर्ने खालको रहेको बताइन् ।

कोभिड–१९ महामारीपछि लामो समय बन्द भएर ऋण र घाटाबाट गुज्रिरहेका होटल व्यवसायी अझै पुनःस्थापनाको प्रयासमा रहेकामा मुख्यमन्त्रीको भनाइले लगानीकर्ता निराश हुने उनको भनाइ छ।

संघले मुख्यमन्त्रीलाई उक्त अभिव्यक्ति फिर्ता लिन आग्रह गर्दै प्रदेश सरकारलाई व्यवसायमैत्री नीति ल्याउन, होटल तथा पर्यटन व्यवसायलाई संरक्षण र प्रवर्द्धन गर्ने नीतिगत व्यवस्था मिलाउन सरकारलाई दबाब दिएको छ ।

यस्तै संघले नेपालगञ्जमार्फत मात्र सञ्चालन हुँदै आएको कैलाश–मानसरोवर हवाई यात्रा सुर्खेतबाट सुरु गर्न सरकारलाई माग गरेको छ ।

संघका अनुसार सरकारले विगतमा हवाई यातायातमा सहुलियत दिने नीति घोषणा गरे पनि कार्यान्वयनमा ढिलाइ हुँदा पर्यटक आगमन घटेको छ र होटल व्यवसाय प्रभावित बनेको छ।

होटल व्यवसायले ठूलो लगानीका साथै हजारौंलाई रोजगारी दिएको उल्लेख गर्दै संघले होटलमैत्री कार्यक्रम ल्याई कर्णालीमा पर्यटन प्रवर्द्धन गर्न सरकारसँग अपिल गरेको छ।

प्रकाशित मिति : २०८२ भदौ ५ गते बिहीबार