२०८३ वैशाख ८ , मंगलबार

एक वर्षे कार्यकालको समिक्षासहित मन्त्री भण्डारीको पुस्तक सार्वजनिक



कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले पद सम्हालेको एक वर्ष पुरा भएको छ। एक वर्षको यो कार्यकालमा गरिएको प्रमुख गतिविधिको समिक्षा समेटिएको ‘जिम्मेवारी, चुनौती र प्रतिबद्धताको एक वर्ष’ नामक समिक्षात्मक पुस्तक मन्त्री भण्डारीको सचिवालयले बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

नेपाली कांग्रेसबाट दैलेख क्षेत्र नं. २ (क) बाट प्रदेश सभामा निर्वाचित भण्डारी २०८१ साउन २० गते सामाजिक विकास मन्त्रालयको नेतृत्वमा आएका थिए। पुस्तक अनुसार, मन्त्री भण्डारीको कार्यकालमा तीन जना सचिवहरू परिवर्तन भएका थिए, जसले मन्त्रालयको स्थायीत्व र कामको प्रभावकारितामा असर पुर्‍याएको उल्लेख गरिएको छ।

निजामती सेवाका विशिष्ट श्रेणीका सचिवहरू सेवा निवृत्त भएका कारण सचिवहरूको आवागमनले प्रशासनिक सहकार्यमा जटिलता सिर्जना गरेको मन्त्रीको भनाइ छ। यसले नीति निर्माणदेखि कार्यान्वयनसम्म विभिन्न तहमा मनोवैज्ञानिक, व्यवस्थापकीय र संरचनागत प्रभाव पारेको उनी बताउँछन्। ती प्रभावहरू सकारात्मक, नकारात्मक वा मिश्रित किसिमका रहेको समेत उनको बुझाइ छ।

जनताको सेवा प्रदान गर्ने मन्त्रालयका हैसियतले सामाजिक विकास मन्त्रालयमा राजनीतिक र प्रशासनिक नेतृत्व दुवै गम्भीर हुनु आवश्यक रहेको मन्त्री भण्डारीले बताए। कर्णाली प्रदेशको सामाजिक–आर्थिक रूपान्तरणको लक्ष्यसहित मन्त्रालयले हाल ३९ वटा कार्यालयमार्फत सेवा दिइरहेको छ।

स्रोत, जनशक्ति र समयको सीमाबीच पनि मन्त्री स्तरबाट जिम्मेवारी पूरा गर्न सक्दो प्रयास गरिएको उनले उल्लेख गरे। कार्यक्षमता अभिवृद्धिको उद्देश्यले चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवातमै साउन ११ गते ‘वार्षिक कार्यक्रम सञ्चालन दिग्दर्शन’ पारित गरी कार्यान्वयनमा ल्याइएको छ।

मन्त्रालयले श्रावण महिनालाई ‘डेंगी सचेतना महिना’का रूपमा मनाउँदै लार्भा खोज र नष्ट अभियान सञ्चालन गरिरहेको छ। स्वास्थ्य सेवाको क्षेत्रमा प्रदेश अस्पताल सुर्खेतमा मृगौला र कलेजो प्रत्यारोपण सेवा सुरु गर्नु महत्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ। यस्तै, गम्भीर रोगबाट पीडित १३१ जना बिरामीलाई जनही एक लाख रुपैयाँसम्मको उपचार सहायता उपलब्ध गराइएको छ।

आगामी वर्षमा थप गम्भीर रोगहरूलाई सूचीमा समावेश गरी सहायता रकम उपलब्ध गराउने तयारी गरिएको छ।

प्रकाशित मिति : २०८२ साउन २२ गते बिहीबार