२०८३ वैशाख ८ , मंगलबार

प्रदेश स्तरीय मानव अधिकार रक्षक अभिमुखिकरण कार्यक्रम सुरू



कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा युरोपियन युनियनको सहयोग तथा इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा प्रदेश स्तरीय मानव अधिकार रक्षक अभिमुखिकरण कार्यक्रम सुरू भएको छ।

सोमबार देखि सुरू भएकाे कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ ।  अभिमुखिकरण कार्यक्रमले कर्णाली प्रदेश भरिका मानव अधिकार रक्षकहरूको परिचय र अधिकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा ढाँचा, महिला मानव अधिकार रक्षकको भूमिका, यौगिक तथा लैङ्गिक अल्पसङ्ख्यक मानव अधिकार रक्षकको महत्व, जलवायु न्याय तथा व्यवसायमा मानव अधिकार रक्षकको उदयमान अवधारणा जस्ता समसामयिक र महत्त्वपूर्ण विषयवस्तुहरू समेटेर प्रदेश स्तरीय मानव अधिकार रक्षकहरुलाई अभिमुखिकरण गरिएको थियो।

कार्यक्रममा सहभागीहरूलाई विभिन्न क्षेत्रका विज्ञहरूले मानव अधिकार संरक्षण र प्रवर्द्धनमा नयाँ चुनौती र अवसरबारे जानकारी दिएका थिए। विशेष गरी जलवायु परिवर्तन र व्यापारिक गतिविधिमा मानव अधिकारको संरक्षण कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिए।

इन्सेक कर्णाली प्रदेश कार्यालय द्वारा यस कार्यक्रममार्फत प्रदेश भरिका मानव अधिकार रक्षकहरूको क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय, तथा राष्ट्रिय स्तरमा उनीहरूको प्रभावकारी भूमिका सुनिश्चित गर्ने लक्ष्यका साथ अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो। सोमबार देखि सुरु भएको दुई दिने अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न हुने छ।

प्रकाशित मिति : २०८२ जेठ २६ गते सोमबार