२०८३ मंसिर १० , बिहीबार
परदा

घुम्टोभित्रको जीवन र महिलाको स्वतन्त्रताको कथा



महिलाले अनुहार देखाउनु अपराध मानिने समाज, परम्पराका नाममा थोपरिएका प्रतिबन्ध र त्यसविरुद्धको संघर्षलाई चित्रण गर्दै तेलुगू फिल्म ‘परदा’ निर्माण गरिएको छ।

फिल्ममा महिलाले घरबाहिर निस्किँदा अनुहार छोप्नुपर्ने र परिवारका सदस्यबाहेक अन्य पुरुषले उनीहरूको अनुहार हेर्न नपाउने परम्परा रहेको गाउँको कथा प्रस्तुत गरिएको छ। उक्त नियम उल्लङ्घन गरे देवीको श्राप लाग्ने र बलि दिनुपर्ने अन्धविश्वाससमेत समाजमा व्याप्त छ।

यस्तै परिवेशमा हुर्किएकी सुभ्बु अर्थात् सुभलक्ष्मीको जीवनमा एउटा घटनाले ठूलो परिवर्तन ल्याउँछ। स्थानीय युवक राजेशसँग विवाहको तयारी भइरहेका बेला हावाले उनको घुम्टो उडाउँछ। सोही समयमा एक फोटोग्राफरले उनको तस्बिर खिच्छन्। पछि उक्त तस्बिर चर्चित पत्रिकाको आवरणमा प्रकाशित भएपछि गाउँमा विवाद उत्पन्न हुन्छ। परम्परा उल्लङ्घन गरेको आरोपमा उनको विवाह रोकिन्छ भने उनीमाथि आत्महत्या गर्नुपर्ने दबाबसमेत सिर्जना गरिन्छ।

त्यसपछि आफू निर्दोष भएको प्रमाणित गर्न सुभ्बु गाउँ छाडेर हिमालय क्षेत्रस्थित धर्मशालातर्फ यात्रा गर्छिन्। उनको यात्रामा काकी रत्नम्मा र अमिष्टा (अमी) पनि सहभागी हुन्छन्।

सहरमा काम गर्ने शिक्षित तथा आत्मनिर्भर अमीले पनि कार्यस्थलमा लैंगिक विभेद भोगिरहेकी हुन्छिन्। अर्कोतर्फ रत्नम्माको जीवन घरपरिवारको जिम्मेवारीमै सीमित रहेको हुन्छ। तीन महिलाको यात्राले उनीहरूलाई एकअर्काको जीवन, संघर्ष र बाध्यता बुझ्ने अवसर प्रदान गर्छ।

फिल्मले ग्रामीण समाजमा जरा गाडेर बसेको अन्धविश्वास, महिलामाथि लगाइने सामाजिक प्रतिबन्ध, लैंगिक विभेद र महिला स्वतन्त्रताको विषयलाई प्रस्तुत गरेको छ। घुम्टोभित्र सीमित सुभ्बुको जीवनयात्रामार्फत समाजले महिलामाथि निर्माण गरेका अदृश्य सीमालाई फिल्मले उजागर गर्न खोजेको छ।

सुभ्बुको तस्बिर खिच्ने फोटोग्राफर को हुन्? उक्त तस्बिर पत्रिकाको आवरणसम्म कसरी पुग्यो? धर्मशालासम्मको उनको यात्रा कहाँ पुगेर टुंगिन्छ? यी प्रश्नको जवाफ र तीन महिलाको संघर्ष तथा जीवनमा आउने परिवर्तन जान्न तेलुगू फिल्म ‘परदा’ हेर्न सकिन्छ।

हेर्नुस् हिन्दी डब संस्करण युट्युबमा

प्रकाशित मिति : २०८३ मंसिर ४ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।