नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ । व्यापक परिवर्तनसहित सुरु हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
क्यानले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगिताको उद्घाटन खेल आज बेलुकी ५ बजे हुनेछ । पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
करिब एक महिनासम्म सञ्चालन हुने प्रतियोगिताका लागि क्यानले यसपटक विभिन्न सुधार गरेको छ । प्रतियोगिताका सबै खेल सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको स्तरोन्नति गरिएको छ भने खेललाई थप पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन निर्णय समीक्षा प्रणाली (डीआरएस) समेत लागू गरिएको छ ।
यस संस्करणमा सहभागी टोलीहरूले विश्वचर्चित विदेशी खेलाडीलाई समेत अनुबन्ध गरेका छन् । विदेशी खेलाडीको सहभागिताले प्रतियोगिताको प्रतिस्पर्धा र आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ ।
एनपीएलको तेस्रो संस्करणमा आठ टोली सहभागी हुँदै छन् ।






